आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन दोस्रो चरणको परियोजना कञ्चनपुरमा सञ्चालनमा आएको छ ।
मार्गेट ए कार्गिल फाउन्डेसनको दुई करोड आठ लाख २० हजार ८५६ को सहयोगमा मर्सिकोर नेपालको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुरले परियोजना सञ्चालन गरेको हो ।
प्राकृतिक प्रकोप जलवायु परिवर्तनका कारण समुदायका साना किसानको सामाजिक तथा आर्थिकस्तरमा पर्ने असरलाई न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।
परियोजना यहाँका कृष्णपुर नगरपालिका, देखतभुली, झलारी पिपलाडी नगरपालिका र शङ्करपुर गाविसमा सञ्चालन गरिएको छ ।
परियोजना सञ्चालनबाट बाढीको सङ्कटापन्न अवस्थामा रहेका एक हजार ३६७ परिवार लाभान्वित हुने भएका छन् । परियोजना अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सञ्चालन गरिने छ ।
आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाको प्रथम चरणअन्तर्गत कञ्चनपुरमा सङ्कटापन्न क्षेत्रका बासिन्दालाई विपद्बारे सचेतना, खोज तथा उद्धार कार्यदल निर्माण, वर्षामापन केन्द्र, बगरमा उखुबाली प्रवद्र्धन, बजारीकरण, बगरखेती, तारजालीको तटबन्ध, जैविक तटबन्ध, नदीतटीय क्षेत्रमा वृक्षरोपण, समुदायको क्षमता अभिवृद्धिलगायका कार्यक्रम गरिएका थिए ।
प्रथम चरणको परियोजना सन् २०१३ देखि सन् २०१६ मार्च सम्म सञ्चालन गरिएको थियो । प्रथम चरणको परियोजनाबाट १० समुदायका आठ हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका थिए । रासस