स्वयम्भूस्थित प्रतापपुर मन्दिरमा जोखिम बढेपछि भत्काउन सुरु गरिएको छ। पुरातत्व विभाग र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको सहकार्यमा मन्दिर भत्काउन लागिएको हो।
करिब चार वर्षअगाडि जीर्णोद्धार सम्पन्न गरिएको सो मन्दिरमा गत वर्ष वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण चिरा चिरा परी ठूलो क्षति भएको थियो। मन्दिर जोखिममा परेकाले सम्भावित मानवीय दुर्घटनाबाट जोगाउन भत्काउन लागिएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए। सो मन्दिर भत्काउन २० लाख बजेट विनियोजन गरिएको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि अध्ययन भइरहेको छ। त्यस क्षेत्रको मुख्य चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा पुगेका छन्।
महासमितिका उपाध्यक्ष ज्ञानु लामाका अनुसार महाचैत्यआसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका घर भत्किएका थिए। महासमितिले विभिन्न माध्यमबाट सङ्कलन गरेको आर्थिक स्रोत खर्च गरी केही सम्पदा जीर्णोद्धारसमेत गरेको छ। रासस