रियल म्याड्रिड ला लिगामा लगातार १७ खेल जित्ने इतिहास रच्नबाट बञ्चित भएको छ। बुधबार राती स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जेमालगायत सबै खेलाडीलाई उतारेको म्याड्रिड भिलारेलसँग १–१ को बराबरीमा रोकियो।
यो खेल जितेको भए रियल म्याड्रिडले ला लिगामा लगातार सर्वाधिक खेल जित्ने इतिहास रच्ने थियो। यसअघि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको म्याड्रिडले लगातार १६ खेल जित्ने बार्सिलोनाको कीर्तिमानलाई बराबरी गरेको थियो।
बुधबारको खेलमा बार्सिलोना पनि एट्लेटिको म्याड्रिडविरूद्ध १–१ गोलमै रोकिएको थियो। जुन खेलमा बार्सिलोनाले आफ्नो स्टार स्ट्राइकर लिओनल मेसीलाई चोटका कारण गुमाएको छ। मेसी तीन साता मैदानमा देखिने छैनन्। तर, चोटबाट फर्किएका म्याड्रिडका दुवै स्टार स्ट्राइकर रोनाल्डो र बेल आफ्नो क्लबलाई ऐतिहासिक सफलता दिलाउनबाट चुके।
‘हामीले जसरी सुरुवात गर्नु पर्ने थियो, त्यो भएन,’ जिदानले भने–‘दोस्रो हाफमा थुप्रै मौका पाइयो तर जीत जहिले पनि अन्तिम मिनेटमा खोजेर पाइदैन।’