नेपाली संस्कृतिको विकास र पुरातन विषयमा अनुसन्धान गर्ने उद्देश्यले विसं २००८ मा विश्वेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा स्थापित नेपाल सांस्कृतिक परिषद्को पुनर्गठन गरी गत मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ।
विसं २००८ मा सो संस्था स्थापना हुँदा उपाध्यक्षमा बालकृष्ण समसहित अन्य पदाधिकारीमा केशरबहादुर खत्री, यदुनाथ खनाल, केशरसमशेर जबरा, ईश्वर बराल, बाबुराम आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, चित्तरन्जन हृदय, सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा, धर्मादित्य धर्माचार्य, हेमराज शर्मा रहेका थिए।
त्यस समयमा कार्यसमितिमा रहेका यी धरोहरको योगदानको स्मरण गर्दै नेपाली वाङ्मयका साथै समाजवादी विचारमार्फत नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धनको उद्देश्यका साथ यस संस्थालाई पुनर्जीवित गरिएको उक्त संस्थाको प्रस्तावनामा उल्लेख छ ।
साहित्यकार महेश प्रसाईंको अध्यक्षतामा दर्ता गरिएको सो संस्थाका अन्य सदस्यमा वसन्तप्रकाश उपाध्याय, मनोज न्यौपाने, हेमन्त विवस, भोजराज न्यौपाने, महेश पौड्याल, ध्रुव घिमिरे र छायाँ लामा रहेका छन् ।
हालसम्म नेपाली काँग्रेसले लेखक, कवि एवम् स्रष्टासम्बद्ध कुनै पनि सङ्घसंस्थालाई शुभेच्छुक संस्थाका रुपमा मान्यता नदिएकोमा बिपी कोइरालाले स्थापना गरेको यस संस्थालाई शुभेच्छुक संस्थाका रुपमा लिइँदा ऐतिहासिक उपलब्धि हुने भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आवेदन गरिएको जानकारी अध्यक्ष प्रसाईंले दिए। रासस