एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमको कमजोरी मात्रै खोजेर खेद्न नहुने बताएका छन्। गौतमका राम्रा पक्षको पनि चर्चा र प्रशंसा गर्नुपर्ने उनको भनाइ छ।
साहना प्रधानको स्मृति दिवसमा बिहीबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानको भन्दा धेरै चर्चा उपाध्यक्ष गौतमको भयो।
कार्यक्रमको सुरूमै बोलेका गौतमले आफ्ना नराम्रा कुरामात्रै खोतलेर पार्टीभित्र बद्नाम गर्न खोजिएको गुनासो गरे।
उनले भने, ‘मैले पार्टी फुटाएको मात्रै देख्ने? पार्टी बचाएको चाही नदेख्ने?’
कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष ओलीले साहनाको भन्दा धेरै चर्चा गौतमको गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै सक्रिय प्रधानले २०४६ सालमा संयुक्त बाममोर्चाको नेतृत्व गरेकी थिइन्। २०५४ सालमा एमाले विभाजन हुँदा उनी नेकपा मालेतिर लागेकी थिइन्। पार्टी विभाजनमा साहना र बामदेव दुवै पुनर्गठित नेकपा मालेमा लागेका थिए।
नेकपा मालेमा गौतम र प्रधानसँगै रहेको प्रसङ्ग कोट्याउँदै ओलीले व्यङ्ग्य गरे,'साहना प्रधानबारे मलाई त्यति थाहा छैन। उहाँहरूलाई थाहा छ। साहनाजी ठीक भएकाले त वरिष्ठ उपाध्यक्ष पनि यहाँ आउनुभएको छ।'
अध्यक्ष ओलीले गौतममाथि थप व्यङ्ग्य गर्दै भने, 'पार्टी फुटाउँदा पनि उहाँ अध्यक्ष बन्न सक्नु भएन। उहाँलाई कति पीडा होला?'
कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनाल र पूर्वमहासचिव माधवकुमार नेपाल पनि उपस्थित थिए। एमालेका चारै शीर्ष नेताहरूले साहना प्रधान निडर र साहसी नेता रहेको बताए। प्रधानको दुई वर्षअघि असोज ६मा उनको निधन भएको थियो।