प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले आज सिंहदरबारमा भेटवार्ता गरे।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी दिँदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको सराहना गरे।
नेपालले सात दशक लामो सङ्घर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रियालाई मौलिक ढङ्गले टुङ्गोमा पु¥याउन खोजिरहेको बताएका प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ।
भेटमा राजदूत पिटर्सेनले नेपालको प्रगति र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने विश्वास दिलाउँदै शान्ति प्रक्रियामा नर्वेले खेलेको भूमिकालाई नेपालले सकारात्मक रुपमा मूल्याङ्कन गरेकामा धन्यवाद दिए।
पुनःनिर्माणमा साझेदारी गर्न विश्व बैंक इच्छुक
यसैबीच, प्रधानमन्त्री दाहाल र विश्व बैंकका देशीय निर्देशक किमियाओ फानबीच पनि आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि विश्व बैंकले प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए।
भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्प पछिको पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए। “विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौँ, नेपालको पुनःनिर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकसँग थप साझेदारित गर्न नेपाल इच्छुक छ” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विश्व बैंकको नीतिमा सहलीकरण गरी नेपाल सरकारको पूर्वाधार विकास नीति अनुकूल बनाउन पनि राजदूत फानसँग आग्रह गरेका थिए।
निर्देशक फानले नेपालको ऊर्जा, जलविद्युत्, प्रसारण लाइन, सौर्य ऊर्जालगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिएका थिए। रासस