सञ्जय स्मृति प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई सम्मान गरेको छ। प्रतिष्ठानको तर्फबाट नयाँ शक्ति नेपाल पार्टीको संयोजक एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार सम्मान गरे। दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो।
सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उपकप्तान हुन्। दुबै एक दशकअघि देखी राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आइरहेका छन्। घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन।
प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले संस्थाले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आएको बताए। दुई वर्षअघि प्रतिष्ठानले राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पूर्व कप्तान निता शाहलाई सम्मान गरेको थियो।