सर्बियाको अखबारले युथ–१९ महिला फुटबलको खेलमा स्कटल्यान्डका खेलाडी अत्याधिक मदिरा सेवनका कारण मैदानमा उत्रिन नसकेको दावी गरेपछि स्कटल्यान्डमा खैलाबैला मच्चिएको छ। यो घटनाका कारण स्कटिस फुटबल संघका अध्यक्षले स्पष्टीकरण दिँदै हिड्नु परिरहेको छ।
युरो च्याम्पियनसीपको छनोट खेल्न स्कटिस महिला टोली यसै साता अल्बेनिया पुगेको थियो। तर, सर्बेलियाली पत्रिकाको दावीअनुसार खेलाडीले खेल हुने दिनको अघिल्लो रात अत्याधिक मदिरा सेवन गरेका थिए।
यसैका कारण भोलि पल्ट उनीहरू मैदानमा उत्रिन सकेनन्। सर्बियाको यो दावीलाई स्कटिस फुटबल संघका अध्यक्षले खारेज गर्ने क्रममा भने– ‘खेलाडीहरू बिरामी परेका कारण मैदानमा उत्रिन नसकेका हुन्। अन्य कारण होइन्। बिरामीका कारण हामीले युरोसँग गरेको अपील पनि स्विकार भएर अर्को समयमा खेल्ने कुरामा सहमति बनिसकेको छ।’
सर्बियाको समाचारपत्रले पहिलो खेलको जीतपछि अत्याधिक मात्रामा मदिरा सेबन गरेका स्कटिस महिला खेलाडीले सोमबार हुने भनिएको दोस्रो खेल खेल्न नसकेको दावी गरेको छ। स्कटिस संघका अध्यक्षले अल्बानियामा भएको खेलपछि महिला टोलीका ९ सदस्य बिरामी परेका कारण सर्बियाविरूद्धको खेल छोड्नु परेको बताए।
‘९ खेलाडी डाइरिया र बिरामीका कारण थला परेपछि नखेलिएको हो। समाचारमा आए जस्तो होइन,’ टोलीका प्रशिक्षक ग्यारेथ इभन्सले पनि दावी गरे।