एमाले उपमहासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष ओलीलाई सामूहिक निर्णयले मात्रै पार्टी बलियो हुने सन्देश दिन बुद्धको पाठ पढाएका छन्।
आजबाट सुरु भएको केन्द्रीय कमिटीको सातौं बैठकमा अध्यक्ष ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा असहमति राख्दै भूसालले छुट्टै प्रतिवेदन तयार गरेका छन्।
'पार्टीमा गुटबन्दी अन्त्य गर्न र आजका चुनौतिहरूको सामना गर्न सक्ने पार्टी निर्माण गर्न केन्द्रीय कमिटीमा छलफलका लागि प्रस्ताव' शीर्षकको प्रतिवेदनको अन्त्यमा उनले गौतम बुद्धको कथा समावेश गरेका हुन्।
उनले आफ्नो प्रतिवेदनमा समावेश गरेको कथा यस्तो छ:
तत्कालीन विकसित मगध राज्यका राजा अजात शत्रुले अविकसित बज्जीकामाथि आक्रमण गर्ने निर्णय गरे।
त्यसै बेला बुद्ध मगध पुगेका थिए। आफ्नो योजनाबारे सल्लाह माग्न राजाले आफ्ना मुख्य दूतलाई बुद्धकहाँ
पठाए। जब दूतले राजाको योजना बुद्धलाई बताए र सल्लाहका लागि अनुरोध गरे बुद्धले नजिकै बसेका आफ्ना
मुख्य चेला आनन्दतिर फर्केर सोधे :
बुद्ध : आनन्द! बज्जीहरु पहिले जस्तै सङ्गठित छन्?
आनन्द : हो पहिले झैँ अहिले पनि सङ्गठित छन्।
बुद्ध : उनीहरुले आफ्ना सबै निर्णय सामुहिकरुपमा गर्छन्?
आनन्द : हो, गर्छन्।
बुद्ध : उनीहरु जब आफ्ना समस्याका बारेमा छलफल गर्छन्, पहिले झैँ सानो–ठूलो नभनिकन समान हैसियतमा
रहेर छलफल गर्छन्?
आनन्द : हो, त्यसै गर्छन्।
बुद्ध : पहिले–पहिले आफ्ना निर्णय लागू गर्न सबैले दिलोज्यानले काम गर्थे, आजकल पनि त्यसै गर्छन्?
आनन्द : सबैले सामुहिक निर्णय गर्छन्, सबैले लागू गर्छन्।
त्यसपछि बुद्ध राजाका दूततिर फर्के र भने : यदि बज्जीहरु सामुहिकतामा त्यत्ति बढी विश्वास गर्छन् भने
उनीहरुमाथि विजय पाउन सम्भव छैन। उनीहरुमाथि आक्रमण गर्ने धृष्टता नगर्नु।
यो शिक्षा आज नेकपा एमालेका लागि पनि असाध्यै महत्वको छ। हामीले पनि सामुहिकरुपमा छलफल गर्ने,
निर्णयमा सबैलाई सहभागी गराउने र त्यो निर्णयको पालना सबैले गर्ने हो भने राष्ट्रिय एकतालाई सुदृढ गर्दै र
राष्ट्रिय पुँजीको विकास गर्दै समाजतर्फ अगाडि बढ्न कसैले रोक्न सक्दैन।