उपल्लो डोल्पामा मृत्यु भएका एक शिक्षकको शव छ लाख खर्च गरेर छ दिनपछि आज हेलिकप्टरमा घर लगिएको छ।
सल्यान दारमाकोट– ५ का दशरथ चन्दको शव हेलिकप्टर चार्टर गरी लगिएको हो। चन्दको जन्डिसका कारण गत भदौ ३० गते मृत्यु भएको थियो। उनी साल्दाङ– ८ स्थित दशरथ चन्द प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए।
उनको शव घर लैजान जिल्ला शिक्षा समितिले तीन लाख, सभासद् धनबहादुर बुढाले एक लाख र साल्दाङ गाविसले दुई लाख आर्थिक सहयोग गरेका थिए। प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार मौसम खराबीका कारण शव घर लैजान ढिलाई भएको हो। चन्दको शव विद्यालयबाट एक दिनको पैदल दुरीमा बोकेर प्रहरीले धो गाविससम्म ल्याइपु¥याएको थियो। रासस