भारत कानपुरको ग्रीन पार्क रंगशालामा बिहिबार न्युजिल्यान्डविरूद्ध ऐतिहासिक ५ सय टेष्ट खेल्दैछ। सन् १९३२ मा इङ्ल्यान्डविरूद्ध पहिलो टेस्ट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा समावेश भएको भारतलाई ५ सय टेस्ट खेल्ने राष्ट्रको रूपमा आफूलाई उभ्याउन ८४ वर्ष लाग्यो।
५ सय टेस्टको इतिहासलाई चुम्न अहिलेसम्म २ सय ८५ खेलाडीले भारतका लागि टेष्ट खेले। करिब ९ दशक लामो टेस्ट खेल्ने इतिहास बोकेको भारतका लागि हालसम्म ३२ कप्तानले भारतीय टेस्ट टोलीको नेतृत्व गरेका छन्।
हालसम्म खेलिएको ४ सय ९९ टेस्टमा भारतले १ सय २९ मा जीत र १ सय ५७ मा हार बेहोरेको छ। २ सय १२ टेस्ट भने ‘ड्र’ भएको छ।
भारतको टेस्टमा जीत प्रतिशत २५ दशमलव ९५ हो। भारतले सबैभन्दा बढी १ सय २२ टेस्ट इङ्ल्यान्डविरूद्ध खेलेको छ। तर, सबैभन्दा बढि जीत अस्ट्रेलियाविरूद्ध निकालेको छ। अस्ट्रेलियाविरूद्ध हालसम्म खेलिएको ९० टेस्टमा भारतले २४ मा जीत हात पारेको छ।
भारतीय टेस्ट कप्तानमा सबैभन्दा सफल महेन्द्रसिंह धोनी मानिन्छन्। उनले ६० टेस्टमा कप्तानी गर्ने क्रममा भारतलाई २७ मा जीत दिलाएका छन्। धोनीपछि सफल कप्तानमा सौरभ गांगुलीको नाम छ। एनले २१ टेस्टमा भारतलाई सफलता दिलाएका थिए। यसपछि मोहम्मद अजहरुद्धिन १४, सुनिल गावस्कर र नवाब पटौदी ९–९, राहुल द्रविडले ८ टेस्टमा भारतलाई विजय दिलाएका छन्। हालका कप्तान विराट कोहलीले ७ टेस्टमा देशलाई विजय दिलाइसकेका छन्। बाँकीका १२ कप्तानले कुनै जीत निकाल्न सकेनन्।
पहिलो टेस्ट
भारतले आफ्नो पहिलो टेस्ट सन् १९३२ मा इङ्ल्यान्डविरूद्ध क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा खेलेको थियो। भारतले टेस्ट खेल्नुअघि अन्तर्राष्ट्रियस्तरमा २ सय १८ टेस्ट भइसकेको थियो। भारतको पहिलो टेस्ट कप्तान कर्णेल सीके नायडू थिए। इङ्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पहिलो इनिङमा २ सय ५९ रन बनाएको थियो।
भारतका लागि तीब्र बलिङ गरेका मोहम्मद निसारले ९३ रन खर्चेर ५ विकेट लिएका थिए। लर्ड्स टेस्टको पहिलो र दोस्रो इनिङमा भारत १ सय ८९ योगफलमा रोकियो। जसमा कप्तान नायडूले सर्वाधिक ४० रन बनाएका थिए। दोस्रो इनिङमा इङ्ल्यान्डले २ सय ७५ रन बनायो। यतिबेला भारतका जहांगीर खानले ६० रन खर्चेर ४ विकेट लिएका थिए।
भारतले घरेलु मैदानमा पहिलो टेस्ट सन् १९३३–३४ मा मुम्बईमा खेलेको थियो। सन् १९३२ देखि १९४७–४८ को बीच भारतले इङ्ल्यान्डसँग मात्र टेस्ट खेल्यो। सन् १९४७–४८ देखि मात्र भारतले तेस्रो राष्ट्रविरूद्ध टेस्ट खेल्यो। जसमा भारतले अस्ट्रेलियाविरूद्ध ब्रिस्बेनमा पहिलो टेस्ट खेलेको थियो।
पहिलो टेस्ट जीत
भारतले टेस्टमा पहिलो जीत इङ्ल्यान्डविरूद्ध सन् १९५१–५२ मा चेन्नईमा जितेको थियो। विजय हजारेको कप्तानीमा रहेको भारतीय टोलीले इङ्ल्यान्डविरूद्ध ५ टेस्टको शृंखलाअन्तर्गत अन्तिम टेस्ट जितेको हो। इङ्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको यो टेस्टमा बीनु मान्कडले ५५ रन खर्चेर ८ विकेट लिएपछि भ्रमणकारी टोली २ सय ६६ रनमा खुम्चिएको थियो। यसपछि पंकज रोयले १ सय ११ रन र पाली उमरीगरले १ सय ३० रनको सतकीय इनिङ खेलेपछि भारतले ४ सय ५७ रन बनाएको थियो। दोस्रो इनिङमा पनि मान्कडले ५३ रन खर्चेर ४ विकेट लिएका थिए। जसका कारण इङ्ल्यान्ड पुनः १ सय ८३ रनमा खुम्चियो। भारतले इनिङको अन्तरमा इङ्ल्यान्डलाई हराउदै शृंखलालाई १–१ को बराबरी गरेको थियो।
५० टेस्ट
भरतले ५० टेस्ट अस्ट्रेलियाविरूद्ध १९५६–५७ मा चेन्नईमा खेलेको थियो। यो टेस्ट भारतले इनिङ र ५ रनले हारेको थियो। टस जितेर भारतीय कप्तान उमरीगरले पहिलो ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, रिची बनार्डको घातक बलिङका कारण भारत कूल १ सय ६१ रनमै समेटियो। अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय १९ रन बनायो। दोस्रो इनिङमा रे लिन्डवालले ४३ रन खर्चेर ७ भारतीय ब्याट्सम्यानलाई पवेलियन पठाएपछि घरेलु टोली १ सय ५३ रनमै खुम्चिन पुग्यो।
सयौं टेस्ट
भारतले सयौं टेस्ट सन् १९६७ मा इङ्ल्यान्डविरूद्ध बर्मिघममा खेलेको थियो। यसमा पनि भारतले पराजय भोगेको थियो। यही टेस्टमा नवाब पटौदी (जुनियर) ले भारतीय टेस्ट टिमको कप्तानी गरेका थिए। भारतको सयौं टेस्टमा इङ्ल्यान्डले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। जसमा घरेलु टोलीले २ सय ९८ रन बनाएको थियो। भारत पहिलो इनिङमा मात्र ९२ रनमा अलआउट भएको थियो। दोस्रो इनिङमा इङ्ल्यान्डले २ सय ३ रन बनायो। भारतले जीतका लागि ३ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा २ सय ७७ रन बनायो र ७३ रनले पराजय स्विकार्यो।
२ सय टेस्ट
भारतले २ सय टेस्ट पाकिस्तानविरूद्ध लाहोरमा खेल्यो। भारतीय कप्तान सुनिल गावस्करले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। पाकिस्तानले जहीर अब्बासको उत्कृष्ट दोहोरो सतकको सहयोगले ४ सय ८५ रन बनायो। यसपछि ब्याटिङ गर्न उत्रिएको भारतले मोहिन्दर अमरनाथको सतक र गावस्करको ८३ रनको सहयोगले ३ सय ७९ रन बनायो। दोस्रो इनिङमा पाकिस्तानले मोहसिन खानको सतकका कारण १ सय ३५ रन जोड्ने क्रममा टेस्ट ‘ड्र’ हुनु पुग्यो।
३ सय टेस्ट
भारतले आफ्नो ३ सय टेस्ट दक्षिण अफ्रिकाविरूद्ध अहमदाबादमा खेलेको थियो। जतिबेला भारतीय टिमका कप्तान सचिन तेन्दुलकर थिए। यो टेस्टमा भारतले टस जितेर ब्याटिङको निर्णय गरेको थियो। एलन डोनाल्डको घातक बलिङको अगाडि घुँडा टेकेको भारतले पहिलो इनिङमा २ सय २३ रन मात्र बनायो। भारतले पनि आफ्ना तीन स्पिनर अनिल कुम्बले, सुनील जोशी र नरेन्द्र हिरवानीको बलिङका कारण अफ्रिकालाई २ सय ४४ रनमा समेटेको थियो। दोस्रो इनिङमा भारतीय ब्याट्सम्यानले १ सय ९० रन मात्र बनायो। अफ्रिकालाई जीतका लागि १ सय ७० रनको आवश्यकता थियो। तर, जवागल श्रीनाथले २१ रन खर्चेर ६ विकेट लिएपछि अफ्रिका १ सय ५ रनमा खुम्चियो। भारतले ३ सयौं टेस्ट ६४ रनले जितेको थियो।
४ सय टेस्ट
भरतले ४ सय टेस्ट सन् २००६ मा वेष्ट इन्डिजविरूद्ध किङ्स्टनमा खेलेको थियो। यो टेस्ट पनि भारतले जितेको थियो। राहुल द्रविडको कप्तानीमा रहेको भारत ४ टेस्टको शृंखला खेल्न वेष्ट इन्डिज पुगेको थियो। किङ्स्टनमा द्रविडले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। पहिलो इनिङमा भारतले २ सय रन बनाएको थियो। जेरोम टेलरले ५ भारतीय ब्याट्सम्यानलाई पवेलियन पठाएका थिए। भारतको तर्फबाट हरभजन सिंहले घातक बलिङ गरे। एनले १३ रन खर्चेर ५ विकेट लिएपछि वेष्ट इन्डिज १ सय ३ रनमा खुम्चिएको थियो। दोस्रो इनिङमा पनि भारतीय टोली १ सय ७१ मा आउट भयो। जीतका लागि वेष्ट इन्डिजलाई २ सय ६९ रनको आवश्यकता थियो। तर, वेष्ट इन्डिज २ सय १९ रनमा खुम्चियो। अनिल कुम्बलेले ६ विकेट लिएपछि भारत ४९ रनले विजयी भयो। भारतले यही टेस्टको जीतले गर्दा शृंखला १–० ले जित्यो। भारतले यही टेस्टको मद्धतले ३५ वर्षपछि वेष्ट इन्डिजमा शृंखला जितेको हो।