लैङ्गिक समानता तथा सामाजिक न्याय विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भुटान, म्यान्माका मन्त्री, सांसद तथा उच्च विशिष्ट व्यक्तित्व काठमाडौँ आइसकेका छन्।
व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले यही असोज ६ र ७ गते काठमाडौँमा सो विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।
भुटानका १५ सांसदको प्रतिनिधित्व गर्दै त्यहाँका निर्माण तथा मानवीय बस्ती मन्त्री ल्यान्पो दोर्जी छोडेन र म्यान्माका सांसद खिन स वाईको नेतृत्वमा १० सदस्यीय सांसद टोली काठमाडौँ आइपुगिसकेको समितिका सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिए।
डेनमार्कका उच्च प्रतिनिधि आज बेलुकीसम्म आइपुग्नेछन्। सो सम्मेलनमा लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रका कार्यरत सांसद, अभियन्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहनेछ।
लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रका अनुभव र सिकाइलाई आपसमा आदानप्रदान गर्ने मुख्य ध्येयले आयोजित सो सम्मेलनमा चारवटै देशका सांसदले आ–आफ्ना देशका अनुभवलाई कार्यपत्रमा प्रस्तुत गर्ने सभापति श्रेष्ठले जानकारी दिए।
उनले लैङ्गिक विभेद र सामाजिक न्यायका क्षेत्रमा नेपालको संविधान उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा २१औँ शताब्दीमा लोकतन्त्रको नयाँ स्वरुपका बारेमा पनि कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिनेछ। सम्मेलनको सबै तयारी पूरा भएको सभापति श्रेष्ठले जानकारी दिए। रासस