भारतको दुई राज्य कर्नाटका र तमिलनाडुबीच काभेरीको पानी उपभोग गर्ने सम्बन्धमा देखिएको विवादका कारण भड्किएको हिंसामा बेङ्लुरुस्थित बसपार्कमा ४२ गाडीमाथि एकैपटक आगजनी भएको थियो। यो मुद्दामा स्थानीय प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।
प्रहरीको प्रारम्भिक बयानमा त्यो घटनामा पक्राउ परेकी २२ वर्षिय ती महिलाले एक प्लेट मटन बिर्यानी र सय रुपैयाँको लोभमा बसपार्कमा पार्किङ गरिरहेको ४२ गाडीमाथि आगजानी गरेको तथ्य बाहिर आएको छ।
आगजनी र तोडफोडको घटनामा संलग्न ११ संदिग्ध व्यक्तिलाई ८ दिनअघि प्रहरीले पक्राउ गरेर लगातार सोधपुछ गरिरहेको छ। जसमा भाग्या नाम गरेकी २२ वर्षिय यी महिला पनि छिन्। सिसिटिभी फुटेज र मोबाइल फोनबाट बनाइएको भिडियोको आधारमा प्रहरीले गरेको अनुसन्धानमा भाग्यालाई कसैले उक्साएको फेला परेको प्रहरीले बताएको छ।
महिलाकी आमा येलम्माले पनि मिडियालाई दिएको जानकारी अनुसार बाहिरका व्यक्तिले सय रुपैयाँ र मटन बिर्यानीको लोभ देखाएर आफ्नो छोरीबाट यस्तो काम गराएका हुन्। भाग्याको परिवार मजदुरी गरेर जीविकोपार्जन गर्छन्। उनीहरू घटना भएको स्थान नजिकै केपीएन डिपोमो बसोबास गर्ने गर्छन्।
येलम्मा घटनाको दिन दिउँसो १२ बजे एक व्यक्ति आफ्नो घरमा आएको र उसले प्रदर्शनमा समावेश हुन बिर्यानी र सय रुपैयाँको लोभ देखाएर आफ्नो छोरीलाई उक्साएको बताउँछिन्। ।
प्रहरीले पनि आगजनीको घटना भएको ठाउँमा भाग्या समावेश भएको सिसिटिभी फुटेजले देखाएको बताएको छ। घटनामा पक्राउ परेका कूल ४ सय व्यक्तिमा भाग्यामात्र एक्लो महिला थिइन्। उनी पुलिस हिरासतमै छिन्। प्रहरीका अनुसार भीडको नेतृत्व उनले नै गरेकी थिइन कि अन्य कसैले, यो स्पष्ट हुन सकेको छैन।