एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वर्तमान सरकारले संविधान कार्यान्वयनमा अग्रसरता नलिएको भन्दै आलोचना गरेका छन्।
संविधान जारी भएको एक वर्ष पुगेको उपलक्ष्यमा नेकपा एमाले, जिल्ला संगठन कमिटी काठमाडौंले सोमबार बसन्तपुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन गर्ने काममा सरकार उदासिन रहेको आरोप लगाए।
सरकारले संविधानको कार्यान्वयन भन्दा संशोधनमा जोड दिएकोमा उनले असन्तुष्टी व्यक्त गरे।
उनले प्रश्न गरे, 'संविधान संशोधन केका लागि? विदेशीलाई चाहिएर, अरुले भनेर संशोधन हुने कुरा हो संविधान?'
संविधान संशोधन गर्नै पर्ने आवश्क्ता भए त्यसको औचित्य प्रमाणित गर्न उनले आग्रह गरे। मुलुकमा हिंसा र अस्थिरता मच्चाउन चाहनेहरूले केही व्यक्तिलाई उचालेर संविधान संशोधन गराउन खोजेको उनको आरोप छ।
उनले भने,'सरकार संविधान कार्यान्वयन गर्ने बाटोमा छैन। देशको आवश्यकता संविधान कार्यान्वयन हो, त्यसमा सरकारको रुचि छैन। सरकार विदेशीलाई खुशी पार्न लागि परेको छ।'
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँगको संयुक्त वक्तव्यमा संविधान संशोधनको विषय उल्लेख गरेकोमा उनले आपत्ती जनाए।
प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न हतार गरेको भन्दै अध्यक्ष ओलीले उनको आलोचना गरे।
'प्रधानमन्त्री भएको एक महिना भएको छैन, कुदेर भारत जानु किन पर्यौ? ' भारत भ्रमण गर्न गरेको विषयमा कटाक्ष गर्दै उनले भने,'पहिलापहिला चिठी लेख्दा त्यहाँ खाएर चुठ्न यहाँ आइपुग्नु भन्ने चलन थियो रे? काठमाडौंमा खासर दिल्ली चुठ्न जानु पर्ने हतार के पर्यो?'
उनले भारतले नेपालको संविधानमा आफ्नो स्वार्थ अनुसारको परिवर्तन चाहेको भन्दै प्रधानमन्त्री दाहालको भ्रमणले त्यसमा सघाउ पुर्याएको बताए।
'भारतका प्रधानमन्त्री मोदीलाई नेपालको संविधानमा आफ्ना स्वार्थका कुरा परेनन् भन्ने छ' उनले भने, 'अहिले उहाँ(प्रधानमन्त्री दाहाल)ले भारतीय प्रधानमन्त्रीको कुरामा 'हस हजुर' भनेर आउनु भएको छ।'
उनले नेपालको परराष्ट्र नीति र दृष्टिकोण स्वतन्त्र हुने भन्दै वक्तव्यमा उल्लेख भएका अधिंकाश प्रावधानको आलोचना गरे। साथै आफू प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा गएको बेला भारतले संविधानको स्वागत गर्न नमानेकाले नै संयुक्त वक्तव्य ननिस्किएको बताए।
उनले माओवादीलाई हरियो घाँसमा लोभिएको पाठोको उपमा दिए।
आफ्नो नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएको प्रसंगमा उनले भने 'लोभी पाठो छानेर हरियो घाँस देखाइयो। पाठाले दाहिने हातमा भएको खुकुरी देखन, घाँसमा लोभियो।'
पूर्वप्रधानमन्त्री ओलीले नेपालको संविधानले मधेशी र जनजातिलाई विभेद नगरेको जिकिर गरे।
'तराईमा हाम्रो सरकारले त्यतिधेरै योजना अघि बढाएको छ, बजेट छुट्याएको छ,' उनले भने,'यी सबै योजना अघि बढ्छन्। तराईलाई माथि उठाउन संविधानको कुनै पनि धाराले रोकेको छैन।'
प्रतिगमनको खतरा बढेको संकेत गर्दै उनले नेकपा एमालेले संविधान कार्यान्वयनका लागि खबरदारी गर्ने र समयमै सबै निर्वाचन गराएरै छोड्ने बताए।