सभामुख ओनसरी घर्तीले मधेशी, आदिवासी जनजाति र थारुका माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संशोधनमा सहमति जुटाउन राजनीतिक दलहरुसँग आग्रह गरेकी छन्।
सभामुख घर्तीले पहिलो संविधान दिवसको अवसरमा आइतबार संसद् भवनको परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चियापान समारोह राखी संविधानका कतिपय अन्तर्वस्तुमा मधेशी, आदिवासी जनजाति र थारु समुदायले असन्तुष्टि जनाउँदै आएकाले संविधान संशोधन गरिनुपर्ने बताइन्। उनले संविधान गतिशील दस्तावेज भएकाले समयसापेक्षरुपमा उठ्ने जनताका भावना र आकांक्षालाई सम्बोधन गरी संविधानलाई समृद्ध पार्नुपर्ने बताइन्।
उनले असन्तुष्ट दलका माग सम्बोधन हुने गरी संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनेमा आफू विश्वस्त रहेको समेत बताइन्।
सभामुख घर्तीले ७ मिनेट लामो लिखित मन्तव्यका क्रममा अर्को वर्षको माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्रमुख दलहरु एकताबद्ध हुन आवश्यक रहेको बताइन्। उनले संविधान कार्यान्वयन सम्बन्धी कतिपय विधेयक पारित भइसकेको तथा कतिपय विधेयकहरु संसद्मा दर्ता भइसकेको भन्दै संविधान कार्यान्वयनलाई दलहरुले प्राथमिकता दिने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संसद् सचिवालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, पूर्वराष्ट्रपति, सांसद्, पूर्व सभासद्, राजनीतिक दलका शिर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, सरकारका सचिव लगायत करिब २ हजार ७ सय जनालाई निम्ता गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका अधिकांश निम्तालु कार्यक्रममा सहभागी भए । सहभागीहरुलाई विभिन्न तीन वटा समूहमा विभाजन गरी समूह अनुसार अलग अलग टेण्टमा समोसा, लालमन, स्यान्डवीच र फलफुल खुवाइएको थियो ।