नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संसद् सचिवालयले गरेको संविधान दिवसको कार्यक्रममा अनुपस्थित थिए।
पहिलो संविधान दिवसको अवसर पारेर संसद् सचिवालयले आइतबार अपरान्ह संसद् भवन परिसरमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली अनुपस्थित भएका हुन्।
कार्यक्रममा संसद् सचिवालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, पूर्वराष्ट्रपति, सांसद्, पूर्व सभासद्, राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, सरकारका सचिव लगायत करिब २ हजार ७ सय जनालाई निम्ता गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका अधिकांश निम्तालु कार्यक्रममा सहभागी भए।
सहभागीहरुलाई विभिन्न तीन वटा समूहमा विभाजन गरी समूह अनुसार अलग अलग टेण्टमा समोसा, लालमन, स्यान्डवीच र फलफूल खुवाइएको थियो ।
एमाले अध्यक्ष ओली पोखरामा भएका कारण तथा पूर्व राष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका गएका कारण कार्यक्रममा अनुपस्थित थिए। राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि कार्यक्रममा देखिएनन्।
संवैधानिक निकायका ६७ जना पदाधिकारीलाई निम्ता गरिएकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि कार्यक्रममा अनुपस्थित थिए।
मधेशवादी दलका नेताहरुले भने कार्यक्रम नै वहिष्कार गरेका छन् । संविधान संशोधनको आफ्नो माग सम्बोधन नगरिएको भन्दै मधेशवादी दलका सांसद् र शिर्ष नेताले कार्यक्रम वहिष्कार गरेका हुन्।
सरकारले संविधान जारी भएको एक वर्ष पुग्ने असोज ३ गते सैनिक मञ्चमा कार्यक्रम राखेकाले संसद् सचिवालयले आइतबार नै करिब २ हजार ७ सय निम्तालुको बीचमा खुशीयाली मनाएको हो ।