फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले मैदानमा आफ्नो उत्कृष्ट लय भेटाउन अझै संघर्ष गरिरहेका छन्। तर, मैदान बाहिर भने उनलाई पछ्याउने समर्थकमा कुनै कमी आएको छैन्। यसको पछिल्लो उदाहरण बनेको स्पेनको राजधानी म्याड्रिडको बाटो।
गत शनिबार उनी क्लबमा अभ्यास सकेर म्याड्रिडको हाइवेमा हुँइकिदै थिए। उनका समर्थकले बेन्जेमा गाडीमा हिडिरहेको थाहा पाएछन्। र, उनको गाडी पछ्याउन थालेछन्।
तिखो हर्नको आवाज र बेगमा उनलाई पछ्याइरहेको गाडी देखेपछि बेन्जेमाले आफ्नो गाडी रोकेका थिए। उनलाई त्यतिबेला कुनै अनैतिक काम त हुन लागेन भन्ने लागेको थियो। तर, आफ्नो प्राइभेट गाडीबाट उनलाई पछ्याइरहेका समर्थकले नम्र स्वरमा उनीसँग फोटो खिच्ने आग्रह गरे।
यसलाई बेन्जेमाले सहजै स्वीकार गरेका थिए। यतिबेला आफ्नो टिसर्ट, टोपी र कपीमा उनको हस्ताक्षर लिनेको भीड लागेको थियो। जसका कारण एकछिन बाटोमा गाडी नै जाम भएको थियो। त्यो गाडीमा उनीसँगै क्लबका अर्का साथी जेम्स रोड्रिगेज पनि थिए।
पछि ट्राफिक प्रहरीले जामलाई हटाएका थिए।