रित्तो कुर्सीः प्रमुख नहुँदा शिवसताक्षाी नगरपालिका कार्यालयको दुई महिना देखिको रित्तो कुर्सी र टेवल। तस्विरः विनोद सापकोटा
शिवसताक्षी नगरपालिका कार्यालयपमा दुई महिनादेखि प्रमुख नहुँदा नगरको सम्पुर्ण कामकाज ठप्प भएको छ।
कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईँ अध्ययनका लागि जापान गएपछि नगरपालिका प्रमुख बिहिन भएको हो। सरकारले रिक्त पदमा कार्यकारी अधिकृत पदस्थापन नगर्दा नगरका हरेक शीर्षकका कामकाज चौपट भएको सेवाग्राहीले गुनासो गरेका छन्।
यस्तै लेखापाल चुडामणि घिमिरे ओखलढुंगा सरुवा भएपछि कार्यालयमा समस्या भएको हो।
जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय निकायको सम्पूर्ण अधिकार कर्मचारीलाई प्रत्यायोजन भएको छ। यस्तो अवस्थाामा पनि सरकारले कर्मचारी नपठाउँदा सामान्यभन्दा सामान्य काम लिएर नगरपालिका पुग्ने जो कोही सेवाग्राही रित्तै हात फर्कन बाध्य छन्। शिवसताक्षी नगरमा हाकिमको मात्र होईन लेखापालको कुर्सी पनि २ महिनादेखि खाली छ।
कार्यकारी अधिकृत र लेखापालको पद एकै दिनदेखि रिक्त हुँदा नगरका हजारौ सेवाग्राहीको काम दुई महिनादेखि ठप्प छ।
सेवाग्राहीले पैसा भएर पनि कार्यकारी अधिकृत नहुँदा घर निर्माण गर्न सकेका छैनन्। दुई महिनादेखि घर निर्माण गर्न हातमा पैसा लिएर बसेका शिवसताक्षी १ का हरि बाँस्कोटाले भने, ‘सरकारको कारण म खुल्ला आकाशमा पाल टाँगेर कतिञ्जेल बस्ने?।’
नक्सा पास गरेपछि मात्र घर बनाउन पाइन्छ। तर, कार्यालयमा घर नक्साको सिफारिसमा सही गर्ने मान्छे नहुँदा बाँस्कोटा जस्तै दर्जनौ सेवाग्राही यतिवेला मारमा परेका छन्।
कतिपय सेवाग्राही बैंकबाट ऋण लिएर घर बनाउने योजनामा छन्। तर, सेवाग्राहीका योजना नगरपालिमा प्रमुख नहुँदा अलपत्र परेको छ।
नगरपालिका कार्यालयमा ५२ जना सेवाग्राहीले घर नक्साका लागि निवेदन दिएका छन्। नगरपालिकाका सवओभरसियर नन्दिकेशर भट्टराईले भने, ‘निवेदनमा ईन्जिनियर कृष्ण राईको तोक आदेश छ अनि नक्सा पासमा पनि निमित्त कार्यकारीको जिम्मेवारी पाएका राईलेनै हस्ताक्षर गर्दा प्राविधिक समस्या भएको हो,’ उनले भने।
निमित्त कार्यकारीलाई घर नक्सा फायलमा हस्ताक्षर गरिदिन सेवाग्राहीले अनुरोध गर्ने गरेका छन्, तर राईले आफूलेनै निवेदनमा तोक आदेश गर्ने अनि फेरि फायल स्वीकृत आफैंले गर्दा समस्या आउने बताए।
घर नक्सा पास गराएर बैंकबाट कर्जा लिई व्यवसाय सञ्चालन गर्ने व्यवसायिको पिडा झन दर्दनाक छ । शिवसताक्षी ६ झिलझिलेका व्यवसायी नरध्वज कामीले नगरपालिकामा घर नक्साको सिफारिस लिन धाएको शुक्रबार ५५ दिन भयो। तर उनले कार्यालयमा हाकिम नभएकै कारण घर नक्सा पासको सिफारिस पाएका छैनन्।
कामी जस्तै अन्य व्यवसायी पनि घर नक्सा पासका लागि नगरपालिका दिनहुँ धाउने धेरै छन्। बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने र बचेको पैसाले चाडपर्व मनाउने परिवारलाई झन समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन्।
‘चाडपर्वले छोपिसक्यो, बैंकबाट कर्जा लिएर व्यापार गरौंला अनि त्यहीको आम्दानीले चाडपर्व मनाउँला भन्ने योजना चकनाचुर भयो,’ स्थानीय व्यवसायीले भने।
नगरपालिकामा यतिबेला कर असुली र पञ्चिकरणका काम हुने गरेका छन्। यो वाहेक अन्य कुनै काम हाकिम नभएकैले रोकिएका छन्।
गर्त वर्षका कतिपय विकासका योजनामा काम हुन सकेको छैन। कार्यकारी अधिकृत र लेखापाल नभएका कारण असोज महिनामा वितरण हुने सामाजिक सुरक्षा भत्ता वितरण प्रभावित हुने भएको छ।
कार्यालयमा हाल २३ जना कर्मचारि कार्यरत छन्। उनीहरुले साउनदेखि तलव भत्ता पाएका छैनन्। यतिमात्र होईन लेखापाल नहुँदा नगरका नदीको कटानबाट विस्थापित बनेका परिवारलाई राहत वितरण गर्न सकिएको छैन। कार्यालयमा रहेका विकास निर्माण मा प्रयोग हुने जेसीवि, ट्रिपर सञ्चालन गर्न आदेश दिने कार्यलय प्रमुख नहुदा झन ठूलो समस्या भएको कार्यलयका एक कर्मचारीले बताए।
उनले भने ‘साधन स्रोत छ तर चाहेर पनि काम गर्न असजिलो भएको हो। यस्तै शिवसताक्षी नगरपालिकाको निर्माणाधिन भवन पनि कार्यालय प्रमुख र लेखापाल नहुँदा अलपत्र हुने अवस्था आएको छ,’ त कर्मचारीले सेतोपाटीलाई बताए।