बार्सिलोनाका स्टार लिओनल मेसीसहित गोन्जाले हिग्विन र सर्जियो अगुइरोलाई एकै पल्ट अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत अघिल्लो २ खेलका लागि टोलीमा बोलाएको छ।
अर्जेन्टिनी प्रशिक्षक इडगार्डो बाउजाले शनिबार अक्टुबरमा हुने विश्वकप छनोटको खेलका लागि यी तीन स्टारहरूलाई एकै साथ टोलीमा बोलाएका हुन्।
युभेन्टसका स्ट्राइकर हिग्विनलाई प्रशिक्षक बाउजाले यसै महिना उरुग्वेलाई १–० ले जितेको र भेनेजुएलासँग २–२ गोलको बराबरीमा खेलेको खेलको आधारमा टिममा पुनः बोलाएका हुन्। जबकी म्यानचेस्टर सिटीका अगुइरो पिडुलाको चोटका कारण पहिलो खेलबाट टिमबाट बाहिर थिए।
मेसी अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा फिर्ता लिएदेखि नै अर्जेन्टिनाको टोलीमा समावेश छन्। तर, चोटको कारण बताएर भेनेजुएलाविरूद्धको खेलमा उपस्थित नहुँदा उनको आलोचना भएको थियो।
अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत अक्टुबर ६ मा पहिलो खेल पेरुसँग र ११ मा पाराग्वेविरूद्ध खेल्नेछ।
यस खेलका लागि पेरिस सेन्ट जर्मनीका एन्जेल डि मारियालाई पनि टिममा बोलाइएको छ। दुई पल्ट विश्वकप जितिसकेको अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा उपविजेता बनेको थियो। दक्षिण अमेरिकी समूहमा अर्जेन्टिना १५ अंकका साथ हाल छनोटको तेस्रो स्थानमा छ। उसका लागि छनोट चरणको माथि उक्लिनलाई यो दुवै खेल निकै महत्वपूर्ण मानिन्छ।