नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका धेरै सदस्य तथा नेताहरु गैरकम्युनिष्ट भएको बताएका छन्। पार्टीको केन्द्रीय स्कुल विभागले शनिबार ललितपुरमा गरेको कार्यक्रमा एमाले अध्यक्ष ओलीले एमालेका धेरै सदस्य तथा नेताहरुलाई कम्युनिष्ट भन्न नमिल्ने बताएका हुन्। उनले भने, ‘म जुन कम्युनिष्ट पार्टीको अध्यक्ष छु त्यो पार्टीका अधिकांश सदस्य र नेता कम्युनिष्ट होइनन्’, पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने। ओलीले आफूले भनेका कुरालाई गोप्य र अफ द रेकर्डका रुपमा लिन कार्यकर्ताहरुसँग आग्रह गरेका थिए।
एमाले अध्यक्ष ओलीले एमालेका अधिकांश नेताहरुमा कम्युनिष्टको आचरण र विचार नै नरहेको बताएका हुन्। उनले एमालेका धेरैजसो नेताहरुमा वाहिर एउटा देखाउने र भित्र अर्को गर्ने प्रवृत्ति रहेको भन्दै कतिपय नेताहरुले अहिले पनि झारफुकमा विश्वास गर्ने तथा घरको ढोका बन्द गरेर माथिल्लो तलामा गइ बर्बराएर ग्रहशान्ति गर्ने गरेको बताए।
उनले पार्टीका नेताहरुको दार्शनिक अवस्था निकै कमजोर रहेको बताए।
एमाले अध्यक्ष ओलीले स्कुल विभागबाट प्रशिक्षण लिएका कार्यकर्ताहरुलाई पार्टीका नेताहरुको जस्तो दोहोरो व्यवहार प्रदर्शन नगर्न आग्रह गरे।