लामो अन्तरालपछि चेल्सीका मिडफिल्डर ओस्कार र पेरिस सेन्ट जर्मनीका डिफेन्डर थियागो सिल्भा ब्राजिलको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्। उनीहरू आउँदो महिना ब्राजिलले खेल्ने विश्वकप छनोटमा राष्ट्रिय टोलीमा देखा पर्नेछन्।
सन् २०१४ को विश्वकप अन्तर्गत सेमिफाइनलमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयपछि यी दुवै टोलीमा स्थान बनाउन असफल भएका थिए। उनीहरूलाई पूर्व प्रशिक्षक डुगाले टोली बाहिर राखेका थिए। तर, डुगाको बहिर्गमनपछि प्रशिक्षक बनेका आडेनोर बाचीले शुक्रबार उनीहरूलाई टोलीमा बोलाएका छन्।
वायर्न म्युनिखका स्टार डगलस कोस्टा पनि चोटबाट फर्किएपछि टोलीमा अटाएका छन्। ब्राजिलले घरेलु मैदानमा अक्टुबर ६ मा बोलिभियाविरूद्ध खेल्दैछ। यस्तै, अक्टुबर ११ मा मेरिडा पुगेर भेनेजुएलाविरूद्ध खेल्नेछ। ब्राजिलले भर्खरै इक्वेडर र कोलम्बोलाई लगातार दुई खेलमा पराजित गरेको थियो।