स्लोभेनियाका ४८ वर्षीय एलेक्सान्डर केफेरिन विश्वको सबैभन्दा बलियो खेलकुद संघ युरोपेली फुटबल महासंघको अध्यक्ष निर्वाचित भएका छन्। उनले अब भ्रष्टाचारका कारण पद गुमाएका फ्रान्सका माइकल प्लाटिनीको स्थान लिनेछन्।
युरोपेली महासंघको निर्वाचनमा हल्यान्डका माइकल बेनलाई ४२–१३ मतले पराजित गर्दै केफेरिन अध्यक्षमा निर्वाचित भएका हुन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) का पूर्व अध्यक्ष सेफ ब्लाटरसँगै भ्रष्टाचार मुद्धामा प्लाटिनी पनि मुछिएपछि उनले गत मे महिनामा आफ्नो पदबाट राजीनामा दिनु परेको थियो। फिफाले प्लाटिनीलाई ४ वर्ष फुटबलको कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
सेफेरिनको कार्यकाल सन् २०१९ सम्म हुनेछ। उनी स्लोभेनिया फुटबल संघका अध्यक्ष पनि हुन्। युरोपेली फुटबलका कार्यसमितिमा नभएका सेफेरिनको विजयले सबैलाई अचम्ममा पारेको छ।
गत जुनमा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्दासम्म उनको विषयमा कमैलाई थाहा थियो। युरोपेली फुटबलको अध्यक्ष निर्वाचित भएपछि सेफेरिनले भनेका छन्–‘म शोम्यान होइन, न म भित्र घमण्ड छ। म ठूलो कुरा गर्नमा विश्वास गर्दिन।’ युरोपेली फुटबलको निर्वाचनमा ५५ वटा राष्ट्रले भाग लिएका थिए।