मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्रधिकरणले नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनीका जहाजमा ‘मिचेलियन’कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ।
हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। ती मध्ये वायु सेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०-२००’ सिरिजका जहाजमा मिचेलियनका टायर प्रयोग गरिरहेको छ।
निगमको ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रोपटक पंक्चर भएपछि प्राधिकरणको हवाइ उड्डयान सुरक्षा विभागले अर्को निर्णय नभएसम्म प्रयोगमा रोक लगाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
यस्तै आजको अन्नपूर्णमा छापिएको खबर अनुसार कमजोर गुणस्तरका कारण टायर पन्चर आशंकामा अबदेखि वायुसेवा निगमले रिप्रिट (मर्मत) गरेको टायर जहाजमा प्रयोग नगर्ने निर्णय मंगलबार नै गरेको छ ।
निगमको ए३२०–२२ सिरिजको ९एन एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज अवतरण क्रममा धावनमार्गमा टायर पन्चर हुँदा ठूलो दुर्घटनाबाट बचेको थियो । एक सय ५० यात्रु सवार यो जहाजको पांग्रा धावनमार्गमा ठोक्किनेबित्तिकै देब्रेतर्फको दुई नम्बरको टायर पन्चर भएको हो । जहाजमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि सवार थिए ।
पटकपटक टायरमा आएको समस्याले उडान जोखिम बढाएको निष्कर्ष निकल्दै निगमले मर्मतपछि प्रयोग गर्ने गरेको टायर प्रयोग नगर्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकी कम्पनी मिसेलिनले बनाएको यो टायर थाइल्यान्डको बैंककमा ‘रिप्रिट’ (मर्मत) हुने गरेको छ । पटकपटकको समस्याका कारण निगमले रिप्रिट भएको टायर प्रयोग नगर्ने निर्णय गरेको हो । कंसाकारका अनुसार मंगलबार बसेको निगमको इन्जिनियरिङ, क्वालिटी, मेन्टेनेन्सहितका विभागको निर्णयले कम्पनीबाट आएको नयाँ टायरमात्रै प्रयोग गर्ने निर्णय गरेको छ ।