वीरगंज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत पाँच दिनदेखि फरार छन्।
उपमहानगपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई कुटपिट गरेको अभियोगमा निलम्बनमा परेका रामदयाल यादव फरार भएको पर्सा प्रहरीले जनाएको छ।
आफूमाथि हातपात भएलगत्तै कार्यकारी अधिकृत कोइरालाले यादवलाई निलम्बन गरिसकेका छन्। घटनालगत्तै कार्यकारी अधिकृतको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक मुद्दासमेत दर्ता गरी खोजी गरिसकेको हो।
पर्साका प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले यादव शुक्रवारदेखि सम्पर्कमा नरहेको बताएका छन्। प्रशासकीय अधिकृत यादवको खोजी भइरहेको र उनको मोबाइल फोन समेत अफ भएकाले पक्राउ गर्न कठीन भएको प्रहरीले जनाएको छ।
लामो समयदेखि लेखा शाखामा कार्यरत यादवलाई कार्यकारी अधिकृत कोइरालाले प्रशासन शाखामा सरूवा गरेपछि दुवैजनाबीच लेनदेनको विषयमा ४ महिनादेखि मनमुटाव बढेको थियो।
प्रशासकीय अधिकृत यादवले आफूले कसैलाई पनि हातपात नगरेको दाबी गर्दै कार्यकारी अधिकृत कोइरालाको निर्देशनमा चालकद्वय राजेश क्षेत्री र राजेन्द्र नेपालीले नै आफूलाई कुटपिट गरेको शुक्रबार फोन सम्पर्कमा सेतोपाटीलाई बताएका थिए।