‘एक दुई दिनपछि नै म कतै गाउँ जाँदैछु,’ शनिबार त्रिवि शिक्षण अस्पतालमा नवौं सत्याग्रह घोषणापछि वरिष्ठ चिकित्सक गोविन्द केसीले भनेका थिए।
तर, कहाँ किन जाने भनी पत्रकारहरूले सोध्दा उनले केही बताएनन्। ‘विस्तारै थाहा पाइहाल्नुहुन्छ नि,’ मुसुमुसु हाँस्दै केसीले भनेका थिए।
चिकित्सा क्षेत्र सुधारका निम्ति निरन्तर सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक केसी मंगलबार बिहानै बस चढेर रोल्पा हिँडेका छन्। रोल्पाका ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी औषधि बोकेर लिवाङ हिँडेका हुन्।
मंगलबार बिहान बस चढेर केसी एक्लै लिवाङ हिँडेका छन्। सधैं विद्यार्थी लिएर हिँड्ने केसी यसपालि आफूमात्र हिँडेका हुन्। रोल्पा पुगेर उतैका स्वास्थ्यकर्मीबाट सहयोग माग्ने उनले बताएका छन्।
बुधबार बिहान लिवाङ पुग्ने केसीको अठोट छ। ‘अनसन थाल्नुअघि गाउँमा गएर स्वास्थ्य शिविर चलाउन मन लाग्यो,’ केसीले सेतोपाटीसँग भने, ‘दुई दिनपछि फर्किन्छु।’
लिवाङबाट झन्डै आठ किलोमिटर टाढा गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्ने केसीको योजना छ। बुधबार र बिहीबार दिनभरि शिविर चलाएर शुक्रबार काठमाडौं फर्किने उनको तयारी छ।
शनिबार केसीले चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौं सत्याग्रहको अल्टिमेटम दिएका थिए।
केसीले असोज २ गतेसम्मको अल्टिमेटम सरकारलाई दिएका थिए। ‘फर्केको एक दुई दिनपछि सत्याग्रह सुरू हुन्छ, त्यसअघि नै गाउँ जान मन लागेकोले म हिँडेको हुँ,’ केसीले भने।
केसी लिवाङस्थित स्वास्थ्य चौकी जाँदैछन्। त्यहीँका स्वास्थ्यकर्मीहरूसँग सरसल्लाह र सहयोगमा उनी लिवाङबाट गाउँ जानेछन्। ‘कुन गाउँ जाने भन्नेकुरा त्यहाँका स्वास्थ्यकर्मीसँग सरसल्लाह गरेर टुंगो लाग्छ,’ केसीले भने।
केसीले हाडजोर्नी सम्बन्धि औषधि झोलामा बोकेका छन्। ग्याष्ट्रिक, ज्वरो, रुघाखोकी, स्वासप्रश्वासलगायतको औषधि पनि बोकेका छन्।
केसी आफू हाडजोर्नीका डाक्टर हुन्, त्यसैले हाडजोर्नीसम्बन्धि औषधि छुटाउँदैनन्। गत साउनमा अनसन तोडेको केही समयमै उनी बाढीपीडितको उपचारमा सप्तरी गएका थिए।
केसीले नवौं सत्याग्रहको अल्टिमेटम दिएपछि काठमाडौंमा भने प्रधानमन्त्री तहमा छलफल सुरू भएको छ। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमालगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग केसी आठौंपटक अनसन बस्दा भएको चार बुँदे सम्झौता र नयाँ अल्टिमेटमबारे छलफल गर्दैछ।
सरकारसँग कसले छलफल गर्छ र के हुन्छ भन्ने कुरासँग केसीलाई खासै सरोकार छैन, किनभने उनी आफैंले प्रधानमन्त्रीसँग एकपटक भेटेर आफ्नो कुरा राखिसकेका छन्। पटक–पटक भएका सम्झौता कार्यान्वयन नहुने बरू प्रधानमन्त्री नै मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको सुनेपछि केसीलाई प्रधानमन्त्रीको विश्वास छैन।
‘म पटक–पटक सत्याग्रह गर्छु, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेँ, उहाँले मुखले मीठो कुरा गर्नुभयो तर मेडिकल कलेजलाई सम्बन्धन दिन उहाँ आफैं सक्रिय भएको मैले विश्वस्त सूत्रबाट थाहा पाएँ, मैले कसलाई विश्वास गर्ने अब?,’ केसीले भने, ‘उहाँहरू सरकारमा जानुपूर्व, आठौं सत्याग्रहका बेला, हामी सरकारमा गएपछि सबै माग पूरा गरिहाल्छौं भन्नुहुन्थ्यो, मैले विश्वास गर्ने कोही नै रहेन।’
आठौंपटकको अनसन तोड्दा सरकार र केसीबीच चार बुँदे समझदारी भएको थियो। चिकित्सा शिक्षा नीति व्यवस्थापिका संसदबाट कार्यान्वयनमा ल्याउने, मनमोहन मेडिकल कलेजलाई सरकारी मेडिकल कलेजको रुपमा विकास गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकनमानसिंह कार्कीको विषयमा संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अगाडि बढाउने र त्रिवि शिक्षण कलेजमा वरिष्ठताका आधारमा डिन नियुक्ति चाँडै गर्ने सम्झौता भएको थियो।
मनमोहन मेडिकल कलेजबाहेकका तीन बुँदा कार्यान्वयनमा आउने छाँटकाँट नदेखेपछि केसीले अल्टिमेटम दिएका थिए। चिकित्सा शिक्षा नीति संसदबाट कार्यान्वयनमा आउनुपर्नेमा संसदमा जान नदिन सबै राजनीतिक दल र नेताहरू नै सक्रिय भएको केसीको बुझाइ छ।
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) को फ्याकल्टी बोर्डमा प्रधानमन्त्री दाहाल र त्रिविका उपकुलपतिले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिइरहेको केसीले आरोप लगाएका छन्। माओवादीनिकट भएका कारण नेसनललाई सम्बन्धन दिने प्रस्ताव लिएर प्रधानमन्त्री दाहाल आफैं सक्रिय भएको केसीको दाबी छ।