२०७० सालमा स्थापना भएको बुद्धिष्ट जनाधिकार मञ्च नामक गैरसरकारी संस्थाले भूकम्पपीडितको नाममा संकलन गरेको करोडभन्दा बढी रकम ठगी गरेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै आइपुगेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यसका अध्यक्ष र महासचिवलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
ब्युरोका अनुसार उक्त संस्थाकी अध्यक्ष काठमाडौं बुढानिलकण्ठ वडा नम्बर ५ की ५७ वर्षीया सकुन शेरचन्द र महासचिव सप्तरी पाटो गाविस–१ का ३५ वर्षीय अमरकान्त चौधरीलाई पक्राउ गरी ठगी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ। शेरचनलाई भदौ ८ गते र चौधरीलाई १० गते पक्राउ गरिएको हो।
ब्युरोका अनुसार उनीहरू दुबैले भूकम्पपीडितको नाममा रकम उठाएर ठगेको उजुरी संस्थाकै पदाधिकारीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दिएका थिए। प्रशासनले उक्त उजुरीलाई अनुसन्धान ब्युरोमा पठाएको थियो।
‘भूकम्पको बेलामा बाहिरबाट आएको सहयोग वास्तविक भूकम्पपीडितका लागि खर्च नभएर आफैं कुम्ल्याउने प्रयास गरेको देखिन्छ,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले भने, ‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ, हालसम्म भेटिएका सबै तथ्यबारे विस्तृत खोजबिन गरिरहेका छौं।’
विदेशी व्यक्ति तथा संस्थाबाट पटक–पटक गरी उठाएको ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैयाँमध्ये शेरचन्द र चौधरीले १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार उक्त संस्थाले अमेरिकास्थित गो फन्ड मि, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नी संस्था तथा अन्य व्यक्तिहरूबाट भूकम्पपीडितका नाममा रकम संकलन गरेको हो। अध्यक्ष शेरचन्दका श्रीमान अमेरिकी नागरिक भएकाले त्यहाँको संस्थाबाट आर्थिक कारोबार थालेको पाइएको उनको भनाइ छ।
शेरचन्दका श्रीमान केइथ लेस्लीले ट्वीटरमार्फत शेरचनलाई प्रहरीले १८ रात देखि बिनाअभियोग हिरासतमा राखिएको, वकिलको कानुनी सल्लाह लिन नदिएको र उक्त संस्थालाई ‘स्वतन्त्र तिब्बत’ गतिविधिमा संग्लग्न भएको मिथ्या आरोप प्रहरीले लगाएको बताएका छन्। उक्त विषय अहिले सामाजिक सञ्जालमा छलफल तथा आरोप-प्रत्यारोपको विषय बनेको छ।
सेतोपाटीसँगको कुराकानीमा प्रहरीले लेस्लीको भनाइमा कुनै सत्यता नभएको बताएको छ। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर मात्र शेरचन्दलाई हिरासतमा लिएको ब्युरो प्रमुख सिलवालले बताए।
उनले शेरचन्दको मुद्दामा अमेरिकी राजदूतावासका अधिकारी समेत चासो राखेको र उनीहरुलाई समेत भेट्ने पहुँच दिएको बताए। ‘वकिललाई भेट्न नदिने भन्ने कुरा अहिलेको जमानामा सम्भव छ र?,’ सिलवालले भने, ‘स्वतन्त्र तिब्बत अभियान केही पनि हैन, हामीले ठगी गरेको अभियोगमा पक्राउ गरेका हौं। उनलाई हिरासतमा छोरा, श्रीमान र अमेरिकी दूतावासका अधिकारीहरूले पनि भेटिरहेका छन्।’
केइथ लेस्लीले हिजो सम्म प्रयोग गर्ने गरेको टुइटर ह्यान्डल आज देखि निस्क्रिय भएकोले उनीसँग थप टिप्पणीका लागि सम्पर्क हुन सकेन। उनीसँग फेसबुक मार्फत सम्पर्क गर्ने प्रयास पनि सफल हुन सकेन l
शेरचन्दका कानुन व्यवसायी लोकभक्त राणाले प्रहरीले भेट्न दिए पनि भेट्ने समय एकदमै थोरै भएको बताए। ‘बिहान १० मिनेट, बेलुका १० मिनेटमात्र भेट्न दिइन्छ, त्यति थोरै समयमा खासै कुराकानी गर्न पाइँदैन,’ राणाले भने।
प्रहरीका अनुसार अध्यक्ष र अन्य पदाधिकारीबीच विवाद रहेकाले संस्थाको अभिलेखमै नरहेका र सदस्य नभएका व्यक्ति भेला पारेर विशेष साधारणसभा गराई नयाँ कार्यसमिति गठन गरेको र कोषाध्यक्ष लीला लामाबाट चेक कारोबार गराइएको छ।
विदेशबाट आएको रकममध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ भूकम्पपीडितलाई बाँडेको देखाइएको तर त्यसमा किर्ते बिल भर्पाई गरेको प्रहरीले दाबी गरेको छ। पक्राउ परेका व्यक्ति विरुद्ध आफूसँग यथेस्ट प्रमाण रहेको सिलवालले बताए।
साधारण सदस्यको भेलाले पारित गरको बजेटको अधिनमा रही खर्च गर्नुपर्नेमा त्यो नगेको व्यहोराको उजुरी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। प्रशासनले गृह मन्त्रालयको सिफारिसमा उक्त संस्थाको प्रभु बैंकमा रहेको खाता रोक्का गरेर अनुसन्धान थालिएको हो।