नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भारत र नेपालीको हितविपरीत भए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।
प्रेस चौतारी झापाले सोमबार विर्तामोडमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले प्रधामन्त्रीलाई नेकपा एमालेले आइतबार बालुवाटारमा भेटेर नेपालको हितविपरीत कुनै पनि सन्धि सम्झौता नगर्न जनाउ दिएको बताए। यदि प्रधानमन्त्री दाहालले नेकपा एमालेको ज्ञापनलाई अवमूल्यन गरेर राष्ट्र हितविपरीत संझौता गरे त्यो अमान्य हुने उनले बताए।
उनले भने, ‘प्रधानमन्त्री दाहालले यदि नेपालीको स्वाभिमानमा आँच आउने वा मुलुकको हितविपरीत कुनै पनि सन्धि सम्झौता गरे त्यो दुर्भाग्यपूर्ण हुने छ।’
खनालले नेपालसँग छिमेकी भारत र चीनको सम्बन्ध सन्तुलित, व्यवहारिक र उपलब्धिमुलक नै रहेको बताए। खनालले संविधानको पूर्ण कार्यान्वयन गर्न बर्तमान सरकारले ०७४ माघ ४ गतेसम्ममा तीनै तहको निर्वाचन गरिसक्नुपर्ने बताए।