व्यवस्थापिका–संसद्को आजको बैठकमा सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले ‘पूर्व पदाधिकारीको सेवा सुविधासम्बन्धी प्रतिवेदन, २०७३’ प्रस्तुत गरे।
त्यसैगरी, उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘क्षेत्रीय गुणस्तरलाई लागू गर्ने सार्कस्तरीय सम्झौता’ र ‘समरुपता परीक्षणको मान्यताका लागि बहुपक्षीय व्यवस्थासम्बन्धी सार्कस्तरीय सम्झौता’ सदनसमक्ष पेस गरे।
सम्झौता प्रस्तुत गर्दै मन्त्री जोशीले ती सम्झौताको औचित्य र आवश्यकताबारे सदनलाई जानकारी गराएका थिए।
त्यसअघि श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले विचारार्थ सदनमा पेस गरेको ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ लाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै उनले ‘श्रम विधेयक, २०७२’ पनि पेस गरेका थिए।
त्यसैगरी, सिँचाइमन्त्री दीपक गिरीले विचारार्थ पेस गरेको ‘भूमिगत जलस्रोत विधेयक, २०७२’ र ‘सिँचाइ विधेयक, २०७२’ लाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि भदौ २७ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ।