पशुपति, स्वयम्भु र दरबार स्क्वायरजस्ता पुरातात्विक महत्वका संरचना पुनर्निर्माणको जिम्मा कसलाई दिने अलमलमै डेढ वर्ष बित्यो। यसबीच सरकारले आफ्नो तर्फबाट पनि पुनर्निर्माणमा सिन्को भाँचेन। र, परिणाम- सयौं वर्ष पुराना भवन, मठमन्दिर र गुम्बाहरु झन् झन् मक्किँदै गए।
यस्तो भद्रगोल अवस्थाबीच राजधानीको बौद्ध स्तुप पुननिर्माण भने सकिनै लागेको छ।
मल्लकालमा बनेको बौद्ध स्तुप २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो। त्यही स्तुप पुननिर्माणको ९० प्रतिशत काम सकिइसकेको बौद्ध विकास समितिले जनाएको छ। दुई वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य लिए पनि डेढ वर्षमै सकिने भएपछि सरकारले समेत त्यसको जस लिन थालेको छ।
बौद्ध पुनर्निर्माणको काम यति छिट्टै कसरी सम्भव भयो त?
'स्थानीयहरु सहभागी भएकैले हामीले छिट्टै काम सकेका हौं,' समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सेतोपाटीसँग भने, 'सरकारले काम गर्न अनुमति दिएपछि सर्वसाधारणको आर्थिक, श्रम र नैतिक सहयोग पाएर समितिले सजिलो गरी काम सकेको हो। पुनर्निर्माणको काममा जब स्थानीयको अपनत्व हुन्छ बल्ल त्यो काम सफल हुन्छ। यो हामीलाई पाठै भयो।'
भुइँचालोले क्षतविक्षत बनाएपछि समितिले पुरातत्व विभागलाई क्षतिबारे जानकरी गराएको थियो। महिना दिनपछि मात्रै विभागले क्षति अवलोकन गरेको थियो। त्यतिबेला बौद्ध स्तुपको गजुर भित्रैदेखि मक्किएर भाँचिनै लागेको थियो। वरिपरिका स-साना स्तुपहरु पनि भत्किएका थिए।
समितिले पुनर्निर्माणका लागि त्यतिबेलै सरकारसँग अनुमति माग्यो। सरकारले अनुमति पनि दियो। त्यतिबेला पुरातत्व विभागका वरिष्ठ इन्जिनियर पूर्णबहादुर श्रेष्ठ नेतृत्वको टोलीले अनुगमन गरी क्षतिको विवरण तयार पारिसकेको थियो। सोही टोलीले पुनर्निर्माणको लगत पनि तयार गरेर दियो। चौधौं शताब्दीमा बनाइएको उक्त गुम्बाको गजुरमा सुनको लेपन लगाइएको थियो। भित्र काठ र इँट्टाका संरचना थिए। नयाँ गुम्बा जस्ताको तस्तै बनाउने चुनौती समितिलाई थियो। यो अरुले गर्न सक्ने काम होइन भन्ने पनि समितिका पदाधिकारीले हेक्का राखेका थिए। त्यसैले समितिले सरकारसँग आफैं पुनर्निर्माणको अनुमति मागेको हो।
सुरुमा समितिले क्षतविक्षत स्तुपलाई वर्षायाममा जोगाउन चारैतिरबाट पाल ओढायो। त्यसका लागि स्थानीयको श्रम सहयोग पर्याप्त थियो। सरकारले पुनर्निर्माणका लागि बजेटदेखि श्रमसम्म सबै जुटाउन समितिलाई नै अधिकार दिएको थियो। समितिले सरकारसँग पुरातत्व विभागका इन्जिनियरलाई खटाइदिन भन्यो। सरकारले उपलब्ध पनि गरायो।
पोहोर मंसिर ५ गतेबाट पुनर्निर्माणको काम थालिएको समितिले जनाएको छ। पुनर्निर्माणका लागि श्रम मात्रै होइन आर्थिक रुपले पनि त्यत्तिकै सबल हुनुपर्ने थियो। इन्जिनियर श्रेष्ठले त १८ करोड लाग्ने अनुमान गरेका थिए।
त्यति धेरै रकम सरकारसँग माग्दा धेरै ढिलो हुन्थ्यो। समितिका अघि कसरी पैसा जम्मा गर्ने भन्ने चुनौती आइलाग्यो। अध्यक्ष लामाका अनुसार सरकारलाई कुर्न उनीहरुले मनासिब देखेनन्। बरु स्थानीय र देशविदेशका शुभचिन्तकसँग सहयोग माग्ने निर्णय भयो। अहिलेसम्म समितिले १४ करोड उठाइसकेको छ।
ताई सिनुपा रिम्पोचे नाम गरेका लामाले त २९ किलो सुन नै दान गरे। चीनको एक धार्मिक संस्था र चिनियाँ दूतावासबाट ५ करोड सहयोग आयो। यी ठूलो मात्राका सहयोग हुन्।
यसबाहेक स्थानीयको श्रमदान त छँदै छ। देशका कुनाकुनाबाट पनि बौद्ध धर्मावलम्बी आएर श्रमदान गरे। अझै पनि कतिले त यसरी नै काम गरिरहेको देख्न सकिन्छ।
आर्थिक सहयोग जुट्न थालेपछि समितिले पुनर्निर्माणको काम पनि थाल्यो। 'आर्थिक सहयोगदेखि अन्य कामका लागि सरकारी नियमकानुन र उसैको शैलीलाई कुर्दा हामीलाई यति सजिलै काम गर्न गाह्रो हुन्थ्यो। व्यापारीलाई दिँदा उनीहरुले नाफा घाटा हेर्छ, त्यसको असर गुम्बाको मौलिकता र धार्मिक आस्थामा पर्ने देखेर समिति आफैंले गरेको हो,' समितिका सल्लाहकार मिलन भुजेलले भने।
भित्रबाट नाजुक भैसकेको गजुर बनाउन सजिलो किन पनि थिएन भने यसमा धार्मिक विधि पुर्याएर पुरानो र नयाँ तरिकाको सम्मीश्रण गर्नुपर्थ्यो। त्यसका लागि विभागका वरिष्ठ इन्जिनियर, धार्मिक गुरुहरु सहितको २१ सदस्यीय उपसमिति बन्यो। समितिले नै कीर्तिपुर, पाटन र भक्तपुर लगायत ठाउँबाट पुराना र अनुभवी ६५ कालिगढलाई दैनिक ज्यालादारीमा काम गर्ने गरी खोजेर ल्यायो।
'समितिले अनुभवी कालिगढलाई ज्यालादारीमा काम लगाउने गरी ल्याएको हो। हामी समितिका मानिसले समेत श्रम गरेका छौं अनि अन्य भोलेन्टियरको श्रम यसमा लागेको छ,' उनले भने।
स्तुपमा ठूलो, सेतो घोप्टिएको घैँटो जस्तो भागलाई डोम भनिन्छ। त्यस माथिको पहेँलो भाग बनाउन उनीहरुलाई मंसिर यताको समय लाग्यो। हामीले देख्दा आँखा भएको भागलाई हार्मिका भन्छन्। हार्मिकाबाटै माथिको पहेँलो भागभित्र एउटा सिधा काठको सोकसिङ्ग हुन्छ। सोकसिङ्ग भनेको तिब्बती भाषामा मुटु हो। त्योभन्दा बाहिरपट्टी काठको संरचना हुन्छ त्यसभन्दा बाहिर इँट्टाको सिँढी हुन्छ। इँट्टा पनि हामीले देख्ने सामान्य इँट्टा होइन, विशेष हुन्छ। र, तिनलाई जोड्न सिमेन्ट हैन बज्र बनाउनुपर्छ।
बज्र भनेको पाकेको इँट्टा पिँधेर बनाइएको धुलो, चुन मास र चाकुको सम्मीश्रण रहेछ। पहिलेको संरचनामा यही बज्र प्रयोग भएको रहेछ। अहिले भने मास र चाकु कुहिएर त्यसले बज्रलाई कमजोर बनाउँछ भनेर हटाएको समितिका सल्लाहकार भुजेलले बताए। त्यही इँट्टाको सिँढईलाई फेरि सुन लेपन गरिएको तामाको पात्ताले बाहिरबाट मोड्ने हो।
रिम्पोचेले दान गरेको २९ र सर्वसाधारणले दान गरेको एक गरी ३० किलो सुन यही पहेँलो भागका लागि खर्च भएको समितिले बताएको छ। 'अब गजुरको सबैभन्दा माथिल्लो भाग बनाउन र रंगरोगन गर्नुछ,' समिति अध्यक्ष लामाले भने, 'त्यसका लागि दुई महिना लाग्ला।'