व्यवस्थापिका संसदको सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ। काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपमाथि छानविन गर्न गठन भएको उपसमितिको प्रतिवेदनउपर छलफल गर्न समितिको बैठक बसेको हो।
उपसमितिले बिहीबार प्रतिवेदन बुझाएको थियो। काठमाडौं विश्वविद्यालयमा अख्तियारले कानुनभन्दा बाहिर गएर हस्तक्षेप गरेको ठहर उपसमितिले गरेको थियो। त्यसैगरी, विश्वविद्यालयले आफ्नो नियम कानुनको परिधिमा काम गर्दा भएको हस्तक्षेपविरूद्ध बोल्न नसकेको भन्दै उपसमितिले दुबैलाई दोषी देखाउँदै प्रतिवेदन तयार पारेको थियो।
वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा क्षेत्रमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नांगो हस्तक्षेप गरेको, आफ्नो र आफ्ना परिवारको निहित स्वार्थका लागि भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहित गरेको भन्दै महाअभियोग माग गर्दै अनसन बसेपछि परीक्षा हस्तक्षेपको कुरा सुशासन समिति पुगेको थियो।