साँघुरो सडक, ठाउँठाउँको पहिरो, बढ्दो सवारी चाप बढेकाले पासाङल्हामु राजमार्गमा हुन सक्ने सम्भावित दुघटनालाई न्यूनीकरण गर्न सवारी चालक र सहचालकलाई पहिलोपटक अनुशिक्षण प्रशिक्षण दिइएको छ।
जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार साँघुरो सडक, सवारी साधन गुडाउने गतिमा ध्यान नपुगे दुर्घटना बढ्ने भएकाले समयमै पूर्वसावधानी अपनाउन टिमुरे, धुन्चे कालीकास्थान गरी जिल्लाका तीन स्थानमा २५० भन्दा बढी चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा अनुशिक्षणद्वारा सचेतना गराउने कार्य शनिबार सम्पन्न भएको हो।
नेपाल–चीन केरुङ नाकामा सवारी चाप बढिरहेका बेला चालक र सहचालकलाई नेपाल प्रहरीद्वारा पहिलोपटक प्रदान गरिएको अनुशिक्षण कार्यक्रम उपयोगी भएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ यस्ता कार्यलाई निरन्तरता दिँदै जान आवश्यक रहेको बताए। रासस