स्वास्थ्य मन्त्री गगन थापाले बिरामी भएर उपचारका लागि सरकारी अस्पतालमा आउने दिनदुःखी जनताको उपचार सेवालाई परिणाममुखी हुने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन्।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा निर्माण हुन लागेको प्रसूति वार्ड भवनको शनिबार पोखरामा शिलान्यास गर्दै उनले सय दिनभित्र सुधारको अनुभूति हुने काम थाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए। थापाले त्यसका लागि मन्त्रालयले जस्तोसुकै सहयोग गर्ने बताए।
मन्त्री थापाले कुन–कुन चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने पालो हो, कुन–कुन सेवा दिन सकिन्छ र कुन–कुन कोठामा स्वास्थ्य परीक्षण हुन्छ, कुन सेवा अस्पतालमा उपलब्ध छन् भन्ने सूचना लेखेर कोठाबाहिर टाँस्ने र सूचना दिने परिपाटी विकास गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए।
अस्पतालमा नपुग भौतिक सुविधा उपलब्ध गराउन मन्त्रालय तयार रहेको जानकारी गराउँदै उनले अभाव देखाएर नागरिक स्वास्थ्य सेवा पाउनबाट बन्चित भएको गुनासो हटाउन अस्पताल प्रशासनलाई आग्रह गरे। मन्त्री थापाले पश्चिमाञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बताउने कामलाई अघि बढाइने बताए।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरीटेण्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले अस्पतालका गतिविधिबारे जानकारी दिएका थिए। प्रसूति वार्ड भवन ३३ करोड ८७ लाख ९८ हजार ६८ रुपैयाँको लागतमा आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गरिने योजना छ।