अन्तर्राष्ट्रिय क्रिकेटमा मनमौजी खेलाडीको छवि बनाएका वेष्ट इन्डिजका बिस्फोट ब्याट्सम्यान क्रिस गेलले आफ्नो छवि बदलिनुमा मुटुको एउटा शल्यक्रिया कारण बनेको खुलासा गरेका छन्।
आफ्नो किताब सार्वजनिक गर्ने कार्यक्रमका लागि भारत भ्रमणमा रहेका गेलले शुक्रबार भने, ‘सन् २००५ मा अस्ट्रेलियामा भएको मुटुको शल्यक्रियापछि मैले जीवनको आनन्द उठाउन सुरु गरेँ।’
अस्ट्रेलिया भ्रमणको क्रममा गेलको मुटुको शल्यक्रिया भएको थियो। उनको मुटुमा प्वाल देखिएको थियो। यो कुरा धेरैलाई थाहा थिएन। उनको आमा–बुवालाई पनि शल्यक्रिया सफल भएपछि मात्र जानकारी दिइएको थियो। शल्यक्रियाका कारण गेलले एडिलेटको तेस्रो तथा अन्तिम टेष्ट खेलेका थिएनन्। उनले शल्यक्रियापछि आफूलाई जीवनको महत्व थाहा भएको बताए।
गेलले आफ्नो आत्मकथा ‘सिक्स मसीन’ को सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘कसैलाई थाहा थिएन, अस्ट्रेलियामा मेरो मुटुको शल्यक्रिया भइरहेको थियो। मेरो आमाबुवालाई पनि बताइएको थिएन।’ उनले यो आफ्नो जीवन परिवर्तन गर्ने घटना भएको बताए। ‘यसपछि मलाई महसुस भयो, जीवनको महत्वको बारेमा। यसपछि मैले आनन्द उठाउन थालेँ जुन अहिले पनि कायमै छ,’ उनले भने।