नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २ सय ८६ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो । यस्तै प्राधिकरणले ११ करोड १४ लाख ३९ हजार ८ सय १८ रुपैयाँ बक्यौता समेत असुल गरेको छ । यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानले सफलता प्राप्त गर्दै गएको प्राधिकरणले जनाएको छ । यस्तै आजसम्म तीन हजार २ सय ९८ ग्राहकको लाइन पुनः जोडिएको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईका अनुसार लाइन काटिएका ग्राहकबाट २७ करोड ९६ लाख १२ हजार २ सय ९० रुपैयाँ बक्यौता रहेको छ । प्राधिकरणले बक्यौता नतिरेका ग्राहकलाई विद्युत् नदिन र दिइएको पाइए कानुनानुसार कारबाही गर्ने जनाएको छ । रासस