आर्यघाटमा दागबत्ती दिने क्षण उपाध्यायकै सृजना सुनाउँदै गुरूदेव कामत। तस्बिरहरूः गिरीश गिरी
वरिष्ठ तबलावादक होमनाथ उपाध्यायको शव छेउमै एकहुल संगीतकारहरु जम्मा भएर उनलाई जसै साँगीतिक श्रद्धाञ्जली दिन थाले माहोल एकाएक शान्त भयो। त्यहाँ सामुहिक आवाजमा गाइएको गीतले उपस्थित सबैलाई एकोहोरो बनाइदिएको थियो–
‘ म मरे पनि मलाई मेरो देशको माया छ
यो छाति भरि मुरीका मुरी नेपालको माया छ’
नारायणगोपालले गाएको यो शक्तिशाली गीत त्यहाँ किन बज्यो? म जिज्ञासु बनेँ।
त्यहाँ छेवैमा थिए अर्का वरिष्ठ तबलावादक राजु अग्रवाल। यी उनै राजु हुन् जसले नारायणगोपालको स्वर्णिम सन्ध्यामा होमनाथ उपाध्यायकै साथमा तबला बजाएका थिए। २०२६ सालमा रेडियो नेपाल छिरेर तीन वर्षअघि मात्र अवकाश पाएका राजुलाई मैले माथिको जिज्ञासा राखेँ।
‘त्यो गीत रेडियो नेपालमा रेकर्डिङ हुँदा त्यसमा तबला होमनाथ उपाध्यायलेनै बजाउनुभएको थियो,’ राजुले पुराना सम्झना खोतल्दै भने, ‘वन टेकमा रेकर्ड गर्नुपर्ने त्यो जमानामा टिमका सबैमा गीतप्रतिको रुझान नभइदिए सफल हुनै मुश्किल पर्थ्यो।’ राजुले होमनाथको सम्झना देशभक्तिको यति मिठो गीतसँग जोडेर गर्दा आफू पनि भावुक भएको उल्लेख गरे।
त्यसो भए यो गीत रेकर्ड कहिले भएको थियो?
राजुले यो उत्तर दिन भने सकेनन्। छेउमै उभिएका थिए रेडियो नेपालका अर्का भेट्रान संगीतकार सिके रसाइली।
‘राजा महेन्द्रको निधन २८ सालमा भएपछि देशलाई माया गरेर लेखिएका गीतहरुको एक किसिमले लहरै चलेको थियो,’ रसाइलीले थपे, ‘त्यसै क्रममा यो गीत रेडियो नेपालमा रेकर्ड गरिएको थियो।’ पुराना वाद्यवादक एवं कम्पोजर रसाइलीले त्यति बेलाका क्षणहरू खोतल्दै यो गीत २०२९ सालताका रेकर्ड भएको हुनुपर्ने अनुमान लगाए। त्यो बेला यस्ता गीतहरु रेकर्ड गरेर राजा महेन्द्रप्रति ‘ट्रिब्यूट’ प्रकट गर्ने होडबाजी नै थियो। त्यतिबेला उस्तै शब्द ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने गीतमा चाहिँ शिवशंकरले संगीत र स्वर दिएर रेकर्ड गराएको रसाइली सम्झन्छन्।
‘त्यतिबेला यस्ता भावनाका एकसे एक गीतहरु रेकर्ड भएका थिए,’ पछि रेडियो छाडेर २४ वर्षसम्म नेपाली सेनाको संगीत विभागमा काम गरेका रसाइली भन्छन्, ‘कतिसम्म शक्तिशाली छन् भने आज पनि यस्ता गीतहरुले देसको माया उम्लेर आउँछ।’
रसाइलीका अनुसार ‘म मरे पनि मलाई मेरो देशको माया छ’ गीतको शब्द लक्ष्मण लोहनीले तयार पारेका थिए। त्यसमा संगीत भर्ने काम भने चन्द्रराज शर्माले गरेका थिए।
‘चन्द्रराज शर्माले सांस्कृतिक संस्थानबाटै ल्याउनुभएको टिममा होमनाथ उपाध्याय हुनुहुन्थ्यो,’ त्यतिबेला रेडियो नेपालका तबलावादक राजु अग्रवाल भनिरहेका थिए, ‘त्यसैले यसमा तबलावादक उहाँ नै रहनुभयो।’
पशुपतिमा ७७ वर्षीय चन्द्रराज शर्मा उपस्थित थिएनन्। त्यसैले उनीसँग यस गीतको बारेमा बुझ्न फोन वार्ता गर्नुपर्यो।
सबैभन्दा पहिले त आफ्ना पुराना सहकर्मी होमनाथको निधनबारे थाहै नपाएका चन्द्रराज एकछिनसम्मै फोनमा स्तब्ध भए। ‘ओहो!,’ उनको आवाज निस्कियो, ‘मलाई कसैले भन्दै भनेनन् र पशुपति पनि पुग्न पाइँन बाबु।’
उनकै संगीतको गीत गाएर त्यहाँ श्रद्धाञ्जली प्रकट गरिएको जानकारी दिएपछि चन्द्रराज खुसी भए।
‘खासमा यो गीत साँस्कृतिक संस्थानमै तयार पारिएको एउटा गीति नाटकको थियो,’ चन्द्रराजले सम्झना गरे,‘त्यसका ६ वटा गीतमध्ये यो एउटाले चाहिँ रेडियो नेपालमा रेकर्ड हुने भाग्य पायो।’
बालकृष्ण समको चर्चित नाटक ‘मुटुको ब्यथा’ नै नाम दिइएको भए पनि यो गीति नाटकको सिर्जना भने लक्ष्मण लोहनीले गरेका थिए। लोहनीले यसमा संगीत भर्ने जिम्मेवारी त्यतिबेला साँस्कृतिक संस्थानका संगीत निर्देशक चन्द्रराजलाई दिए। त्यो जमानामा गीति नाटकको चल्ती थियो। मुनामदनमा समेत संगीत भरेका चन्द्रराजले त्योताका नै १५ वटा गीतिनाटक तयार पारेका थिए।
‘मेरै संगीतमा नारायणगोपालले ९० वटा गीत गाएका छन्,’ अधिकांश गीतिनाटकमा उनको स्वर रहेको सम्झना गर्दै चन्द्रराजले भने, ‘केवल एक दुई वटा गीति नाटकमा मात्र नारायणगोपालले गाएनन्।’
धेरैले नारायणगोपाललाई ‘घमण्डी’ थिए भन्ने गरेका बेलामा चन्द्रराज भने नारायणगोपालजस्तो मिलनसार साथी नभएको सुनाउँछन्।
‘मेरो काममा असाध्यै सहयोगी उनी मलाई गुरुदेव भनेर सम्बोधन गर्थे,’ चन्द्रराज सम्झन्छन्, ‘कतिसम्म भने हामीले एउटै थालमा खाएका पनि छौं।’
चन्द्रराज संगीत निर्देशक रहेको रेडियो नेपालमा कुनै समय करारका गायक रहेका नारायणगोपाल कालक्रममा त्यही साँस्कृतिक संस्थानमा महाप्रवन्धक भएर पनि आए।
‘तर, साथीभाइसँगको उनको ब्यवहारमा कुनै परिवर्तन भएन,’ चन्द्रराज भन्छन्, ‘नारायणगोपाल होइन त्यतिबेला असाध्यै घमण्डी गायकहरु अरु नै थिए।’
आफूले सांस्कृतिक संस्थानकै हलमा पर्दा राखेर २० भन्दाबढी वाद्यवादक र गायक गायिका बोलाइ त्यस गीति नाटकको यो सहित ६ वटा गीत पहिलोपटक रेकर्ड गरेको चन्द्रराजले सुनाए।
‘२७ सालतिर यसरी सांस्कृतिक संस्थानमै यो रेकर्ड भएको थियो,’ उनले थपे, ‘राजा महेन्द्रको देहावसान पछि यो एउटा गीतलाई रेडियो नेपालमै लगेर रेकर्ड गर्न पाइयो।’
यसरी रेडियो नेपालमा रेकर्ड भएको र आम रूपले प्रचलित यो गीतमा हामी नारायणगोपाल एक्लैले गाएको आवाज सुन्छौं। जबकि चन्द्रराजको त्यतिबेलाको योजना अर्कै थियो। उनी यसमा एकातिर सामुहिक स्वर र अर्कोतिर नारायणगोपाल गरेर दुवैथरि आवाज भर्न चाहन्थे। सामुहिक स्वरका निम्ति तारादेवी, गंगा राणा, कुमार बस्नेत, कमला श्रेष्ठ, निर्मला श्रेष्ठ र गणेश रसिकलगायत १५ जना गायक गायिकालाई रेडियोमा निम्ता पनि गरिसकिएको थियो।
‘तर, दुर्भाग्य कस्तो भने त्यही दिन नराम्ररी वर्षात् भइदियो,’ चन्द्रराजले सम्झना गरे, ‘त्यति बेला रेडियो नेपालमा नारायणगोपाल मात्र उपस्थित थिए।’
आफ्नो योजना मुताविक रेकर्ड नहुने भएपछि चन्द्रराज दोधारमा परेका थिए। उनी अर्कोपटक रेकर्डको निम्ति समय लिने योजना गरिरहेका थिए। त्यतिबेला रेकर्ड गर्ने एउटै थलो रेडियो नेपाल रहेको र अहिले जस्तो ट्र्याकको सुविधा नरहेकोले रेकर्डिङको मिति पाउनु असाध्यै गाह्रो काम थियो।
त्यतिबेलै नारायणगोपालले चन्द्रराजलाई भनेछन्, ‘गुरुदेव जीन्दगीको कुनै भरोसा हुँदैन। मौका पाएको बेलामा जस्तो हुन्छ त्यस्तै रेकर्ड आजै गरिहालौं।’
यसरी रेकर्ड गरिएको यो गीत आजसम्म पनि श्रोताहरुले उत्तिकै प्रिय मानेर सुन्ने गरेको पाउँदा चन्द्रराजलाई खुसी लाग्ने गर्छ।
त्यो रेकर्ड हुँदाको समय होमनाथ उपाध्याय सांस्कृतिक संस्थानमा करार सेवा अन्तर्गत तबलावादक रहेको चन्द्रराजले बताए।
‘होमनाथ जीसँग मेरो व्यावसायिक मात्र होइन ब्यक्तिगत सम्बन्ध पनि थियो,’ उनी भन्छन्, ‘उनका गुरू शम्भुप्रसाद मिश्रबाट तबलावादनमा प्राप्त गरेको दक्षता मात्र नभइ एक असल मित्रमा हुनुपर्ने गुण पनि उनमा थियो।’
दुवैको कर्मथलो एकै अर्थात् सांस्कृतिक संस्थान भएकाले आफ्ना अधिकांश गीतमा होमनाथ उपाध्यायकै तबला रहेको चन्द्रराजले बताए।
‘होमनाथ जी उहाँको दक्षताकै कारण प्रायः विदेस गइरहनुहुन्थ्यो,’ चन्द्रराज भन्छन्, ‘जबकि उहाँले आफ्नो पाइला नेपालमै टेकिरहन छाड्नु भएन।’
चन्द्रराजका अनुसार ‘म मरे पनि मलाई मेरो देसको माया छ’ भन्ने टिमको एउटा होनहार संगीतज्ञ मुलुकले गुमाएको छ।
बिहीबारको अन्त्येष्टीमा संगीतकार संघले उनको शवको छेउमा यो गीत गाएर सुनाउँदा उपस्थित संगीतकर्मी र संगीतप्रेमीहरु भित्रैदेखि डुबिरहेका थिए।
‘हिजो राति संगीतकार लक्ष्मण शेषजीले मसँग होमनाथ सरका कुन गीत गाउँदा राम्रो होला भनेर सल्लाह माग्नुभएको थियो,’ सहकर्मीसमेत रहेका सिताववादक ध्रुवेशचन्द्र रेग्मी भनिरहेका थिए, ‘त्यसो त उहाँका थुप्रै शास्त्रीय धुनहरु थिए। तर, मलाई यो गीतबाटै विदाइ गर्नु राम्रो होला भन्ने लाग्यो र त्यही सुझाव दिएँ।’
तबलावादक उपाध्यायलाई दागबत्ती दिनेबेलामा भने उनकै सिर्जनाका केही शास्त्रीय तराना गुरूदेव कामतले आर्यघाटमा सुनाएका थिए।