इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन।
त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ। तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ। कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन्। तर, यो भवन नक्सापासविना नै निर्माण गरिएको हो। ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो।
इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन्। पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ। त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट। तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन।
उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु।’
उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ। लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए।
बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ।