बर्दियामा कृष्णसारको वासस्थान अतिक्रमणको चपेटामा परेको छ ।
विसं २०२६ देखि ऐलानी जग्गाका रुपमा बसोबास गर्दै आएका सुकुम्बासीले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।
सो क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिमी फैलिएको संरक्षण कार्यालयले जनाएको छ । कुल क्षेत्रफलमध्ये ५ दशमलव २७ वर्ग किमी कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
एघार दशमलव ६८ वर्ग किमी आवादी क्षेत्र हो । कृष्णसार संरक्षण क्षेत्रभित्र ९३ वटा घर पुरानो ऐलानी बस्ती र ४९ वटा घर सुकुम्बासी बस्ती गरी १४२ घर बनाइएको छ । विसं २०२८ देखि पुरानो बस्ती र २०४६ सालदेखि सुकुम्बासीले संरक्षण क्षेत्र अतिक्रमण गरी बसिरहेका छन् तैपनि राज्यको यसतर्फ ध्यान नगएको स्थानीयवासीको गुनासो छ । रासस