वाणिज्य मन्त्री रोमी गौचन थकालीले आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टीको हस्तक्षेप नसहने बताएका छन्।
एक साता अगाडि मात्र जिम्मेवारी सम्हालेका वाणिज्य मन्त्री थकालीले प्रधानमन्त्री र नेपाली काँग्रेसले हस्तक्षेप गरे पद्बाट राजीनामा दिने बताए।
रिपोर्टस क्लबले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री र पार्टीको दवाबमा एउटै काम नगर्ने बताएका हुन्। उनले राजनीतिमा मन्त्री पद आउने जाने भइरहने भन्दै हस्तक्षेप स्वीकार गरेर भने नबस्ने बताए।
वाणिज्यमन्त्री थकालीले गुणस्तरमा लापर्वाही गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने वाणिज्य मन्त्रालय मातहतका व्यापारिक फर्मलाई एक एक गरेर कारवाहीको दायरामा ल्याउने दाबी पनि गरे। उनले राजनीति पहुँच प्रयोग गरेर कारवाहीबाट उन्मुक्ति पाउने सपना नदेख्न कैफियतमा संलग्न व्यापारिक फर्मलाई चेतावनी पनि दिए।
वाणिज्यमन्त्री थकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता कार्यान्वयनका लागि भारतसँग आग्रह गरिने बताए। उनले वाणिज्य मन्त्रालयले अन्य केही विषयलाई पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल गरिने एजेण्डामा राख्न प्रयास गरिरहेको भन्दै ती विषय पाइपलाइनमा रहेकाले अहिले सार्वजनिक गर्न नमिल्ने बताए।