अन्तर्राष्ट्रिय क्रिकेटका बिस्फोटक ब्याट्सम्यान एबी डि भिलियर्सको आत्मकथा यसै साता सार्वजनिक हुँदैछ। दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका डि भिलियर्सको आत्मकथामा सबैले देखाएको चासोपछि उनी निकै हौसिएका छन्।
उनको आत्मकथा सेप्टेम्बर ८ तारिखमा विशेष कार्यक्रमबीच जोहनेसवर्गमा सार्वजनिक हुँदैछ। आत्मकथा अंग्रेजी र अफ्रिकन गरी दुई भाषामा लेखिएको छ।
यही दिन उनको आत्मकथा बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र भारतमा पनि सार्वजनिक हुनेछ। भारत अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीका लागि ठूलो बजार हो।
उनको आत्मकथाले भारतमा राम्रो कमाइ गर्ने बताइएको छ। ‘एबीः दि अटोबायोग्राफी’ नाम दिइएको उनको आत्मकथामा बच्चादेखि स्कुले जीवनसम्म उनले क्रिकेट खेलाडी बन्न गरेको संघर्ष समावेश गरिएको छ।
यस्तै, खेल जीवनको उतार चढावलाई पनि आत्मकथाबाट बताउन खोजिएको छ। उनी संगीतका पनि पारखी मानिन्छन्। व्यापार व्यवसायमा पनि उनलाई खुबै रुचि छ। डि भिलियर्सको नाममा सबैभन्दा छिटो ५०, १०० र १५० रन बनाउने कीर्तिमान छ। उनले ५० भन्दा माथिको औसतमा टेस्ट र एकदिवसीय दुवैमा ८ हजार रन बनाइसकेका छन्।
बिस्फोटक ब्याटिङ गर्न माहिर मानिने डि भिलियर्सको उपनाम नै ‘मिस्टर ३ सय ६० नटआउट’ र ‘सुपरम्यान’ छ। उनले किताबमा न्युजिल्यान्डसँग विश्वकपको सेमिफाइनलमा पराजित हुनु आफ्नो जीवनको निरस दिन भएको खुलासा गरेका छन्।