भदौ १५ गते फेसबुक स्टाटसमा नेपाल इन्जिनियरर्स एसोसिएसनको निर्वाचनमा भोटिङ मेसिन किन प्रयोग गरिने भएन भन्ने बारेमा धेरै देख्यौं। कसैले पिडिएफमा निकाल्न मिल्दैन रे, कसैले प्रमाणित भएको छैन रे, कसैले फेरी गन्न सकिँदैन रे, कसैले भोट गर्ने तरिका फरक हुने भएकाले गाह्रो हुन्छ रे, कसैले ह्याक हुन्छ रे, कसैले अन्तिम समयमा आएर यसको कुरा भयो कमसेकम एक वर्ष त चाहिन्छ यस्तै यस्तै धारणा राखेको पाइयो। कसैले यो नगरी हुन्न, यसले सम्पूर्ण इन्जिनियरहरूको बेइज्जत भयो, हामीले अब डाडुमा पानी तताए हुने भयो भन्नेजस्ता कुरा आयो। हामीलाई कसैले रामलक्ष्मण नेपालका इन्जिनियर पनि भन्नुभएको छ, हाम्रो सान बढाइदिनु भएकोमा धन्यवाद। तर, हामी इन्जिनियर हैनौं। हामी व्यावहारिक प्रविधि अनुसन्धानकर्ता भने हौं। पढाइ चाहिँ हाम्रो व्यवस्थापन हो।
हामीले नेविसंघको १२९ जना चुन्नुपर्ने र हाराहारी सात सयको संख्यामा उम्मेदवार रहेको एकदमै अफ्ठ्यारो चुनाव तीन दिनअघि सम्झौता गरेर भर्खर सफलतापूर्वक सम्पन्न गरेका थियौं। जुन यसै मेसिन प्रयोग गरेर गरिएको ५१ औं निर्वाचन थियो। नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनको लागि मेसिन प्रयोग गर्ने भन्ने कुरा आयो। खुसी लाग्यो, किनभने इन्जिनियरहरूले प्रयोग गर्दा यो मेसिनको धेरै कुराहरूको परिमार्जन हुनसक्छ, अझैं राम्रो बनाउनको लागि मौका हुनसक्छ भनेर दंग हुँदै पहिलो छलफलमा भाग लियौं। हामीले पहिलो छलफलमै भनेका थियौं कि हामी चाहिँ इन्जिनियर हैनांै, यहाँ इगोको समस्या हुनसक्छ कि? त्यस्तो केही हुँदैन। हामीहरूले आजभन्दा दस वर्षअघि नै कम्प्युटरबाट भोटिङ गरेका हौं, तपार्इंहरूले त यतिका चुनाव गरिसक्नुभएको रहेछ, हामी प्रतिनिधि बोलाउछौं भन्नुभयो र अर्को बैठकको समय तय भयो।
हामी मेसिन प्रदर्शन गर्ने तयारीका साथ पुग्यौं। प्रदर्शन गर्दादेखिकै केही इन्जिनियरहरू नकारात्मक टिप्पणी गर्दै हुनुहुन्थ्यो र पहिलो प्रश्न हामीलाई सोधियो यसले कुनै मतदाताले गरेको मत गरेको प्याटर्न (सायद ग्रुपभित्रको घात अन्तरघातको रेकर्ड भन्न खोज्नुभएको होला) निकाल्न मिल्छ? हामीले तुरुन्तै उत्तर दियौं, सामान्य अवस्थामा मिल्दैन। तर, मेसिनमा यो कुरा रेकर्ड भएको हुन्छ जुन कुरा अदालती प्रयोजनको लागि भनेर हामीले निर्वाचन समितिलाई दिन सक्छौं, कुनै प्यानल वा गुटलाई दिन हामी सक्दैनौं। त्यसपछि उहाँहरूले स्क्रिनको साइजको कुरा गर्नुभयो, जहाँ कुनै पोष्टका सात उम्मेदवारको नाम एक पटकमा देखिन्छ।
उहाँहरूको उम्मेदवार हेर्दा प्रत्येक पदमा पाँच तथा उम्मेदवार र सदस्य पदमा ५० जना। यो ५० सै जनालाई एउटै स्क्रिनमा देखाउनुपर्यो भन्ने कुरा आयो। अब यो भोटिङ मेसिनले सात जना उम्मेदवार भएको महाधिवेशन पनि गर्नुपर्ने हुनाले कत्रो स्क्रिनमा अट्छ, फेरि कागजमा गर्दा पनि त पाना पल्टाउनै पर्ने हो भन्ने उत्तर दियौं हामीले। फेरि तलमाथि सार्नको लागि बटन के का लागि, त्यहाँबाट जान सकिन्छ भन्दै गदा प्रश्नकर्ता मेसिनको डकुमेन्ट दिनुहोला भन्दै अलप भइसकेका थिए। भोट सुनिश्चित गर्ने एउटा बटन अन्तिम उम्मेदवारलाई पनि दिनुपर्छ भन्ने कुरा हामीले पनि मान्यौं र अपडेट पनि गर्ने कुरा गर्यौं। एक जनाले यो ताल्चा त म खोल्न सक्छु, तार काट्न सक्छुसम्म भन्नुभयो। फुटाउनै चाहे, बिगार्नै चाहे त जे पनि बिग्रन्छ भन्ने उत्तर हामीले दिनै परेन आफसेआफ बुझ्ने कुरा हो। हामीले जे सोचेर त्यहाँ गएका थियौं, भारी मनले फर्कियौं।
अर्को बैठकमा त्यो विरोध गर्ने एउटा ग्रुप दुई वटा बनेछ। उहाँहरूले पहिले त दुई पानाको डकुमेन्ट भन्दै आफूहरूलाई अवहेलना गरेको भन्ने आक्षेप लगाउनुभयो। भोटिङ मेसिनमा त्यस्तो गह्रो प्रोग्रामको कुरा छँदै थिएन जम्मा जोडिने कुरा मात्र थियो, प्रमाणको लागि उहाँहरूको अगाडि नै मेसिन भएपछि कसरी गणना हुन्छ, कसरी आइडी बन्छ भन्ने कुरा कुनै ठूलो थिएन। हामीले सोर्स कोड चाहिँ उहाँहरूलाई दिनुपर्ने बाध्यता देखेनांै। ठूल्ठूला ठेली किताब पढेर आउनुभएका, बाहिरका ठूला विश्वविद्यालयमा पढेकाहरूलाई लाग्नु पनि स्वभाविक भयो होला। त्यतिको ठूलो चुनाव गर्ने मेसिनको किताब पनि धेरै पानाको होला। खासमा यो मेसिन यति सजिलो छ कि जम्मा तीन वटा बटनबाट सबै काम गर्न सकिन्छ, तलमाथि सार्ने, भोट गर्ने, रद्ध गर्ने। मेसिनको प्रयोग नतिजाको शुद्धताको लागि हो, समय बचतको लागि हो।
इन्जिनियरसाप तथा डा. सा’बहरू भएको ठाउँमा प्रविधिको प्रयोग गर्नका लागि हो। यसबाट हामीलाई के लाग्यो भने यो गुट, पार्टी भनिसकेपछि चाहे तल्लो वर्ग भनिने पढ्न नपाएका सामान्य व्यक्ति हुन् चाहे हामीले भोगेका उहाँ इन्जिनियरसा’वहरू हुन्। सेतो कुरालाई आफ्नो गुटले कालो भनेपछि सबै पछिपछि लाग्ने र कालोको नारा लगाएर कालै साबित गर्न खोज्ने। हामीलाई यसले अति अचम्मित पारेको छ। कतै बचपना लाग्ने कमेन्ट पनि देखियो। नेविसंघको चुनावमा २ भोट यताउती पर्यो रे। नेविसंघको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरू र निर्वाचन अधिकृतहरू सम्पूर्णका अगाडि प्रोजेक्टर राखेर भोट गनिएको हो। फेरि त्यति कुरा त बुझ्न पर्थ्यो उहाँहरूले।
पन्ध्र हजार इन्जिनियरका अगाडि खोट भएको मेसिन लगेर हामीले आफैंलाई सिध्याउनु थियो र? यसरी हचुवा भएरमा कमेन्ट गर्ने इन्जिनियर सा’बहरूले हाम्रो देश कस्तो बनाउनुहुन्छ? हाम्रो उद्देश्य कसैलाई मान मर्दन गर्ने हैन, हामी आफू ठूला हौं भन्ने देखाउन खोजेका पनि हैन। तर, प्रमाणलाई नबङ्ग्याउँ, प्रविधिजस्तो सिधा कुरामा राजनीति नगरौं भन्ने मात्र हो।