आइएमइ ग्लोबल आइएमइ बैंक नेपाल फोटो प्रतियोगितामा उत्कृष्ट ठहरिएका फोटोहरुको प्रदर्शनी काठमाडौमा सुरु भएको छ ।
फोटो जर्नलिस्ट (पीजे) क्लबको आयोजनामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विहिवार फोटो प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगीतामा नेपाल स्माइल, न्युज, फोटो स्टोरी, डेली लाइफ, स्पोर्टस, नेचर एण्ड वाइल्डलाइफ र कल्चर एण्ड टुरिज्म विधामा उत्कृष्ट ठहरिएका फोटाहरु राखिएका छन् । फोटो अफ द इयर घोषित दिपकरत्न बज्राचार्यको भुकम्प जाँदै गरेका बेलाको फोटो पनि प्रदर्शनीमा राखिएको छ । १ सय ५० वटा फोटाहरुको प्रदर्शनी ६ दिनसम्म चल्ने छ । पीजे क्लबले काठमाडौपछि सौराहा, धरान, विराटनगर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा पनि फोटो गरिने जनाएको छ ।
पीजे क्लबले विभिन्न विधामा उत्कृष्ट फोटो खिचेका फोटोग्राफरहरुलाई पुरस्कृत समेत गरेको छ । क्लबले फोटो अफ द इयरका विजेता दिपकरत्न बज्राचार्यलाई पुरस्कारस्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ भने अन्य विधाका विजेताहरुलाई ४ लाख २० हजार रुपैयाँ वितरण गरेको छ।
सात वटा विधाका विजेतामध्ये पहिलो हुनेलाई ३०, दोस्रो हुनेलाई २० र तेस्रो हुनेलाई १० हजार रुपैयाँका दरले पुरस्कार रकम दिइएको थियो । फोटो पत्रकार नभेष चित्रकारले नेपाल स्माइल र न्युज विधामा पहिलो तथा फोटो स्टोरीमा तेस्रो पुरस्कारस्वरुप ७० हजार रुपैयाँ हात पारे ।