बैतडीको सीमा नाका झुलाघाट हुँदै भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको सीमा नाका प्रहरी चौकी झुलाघाटले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै भारत भागेर जान लागेका २७ जना बालबालिकालाई सीमा नाका प्रहरी चौकी झुलाघाटले उद्धार गरी आफन्तलाइ बुझाएको छ भने १८ बालबालिका अझै बेपत्ता भएका छन् । बेपत्ता बालबालिका सीमा नाका हुँदै भारत गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घरमा खान, लगाउन नपुग्ने भएकाले बैतडीका विभिन्न ठाउँका बालबालिका घरबाट भागेर भारत जाने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय बालबालिका मात्रै नभएर महिला तथा पुरुषको पनि सीमा नाका हुँदै भारत जानेको सङ्ख्या बढेको पाइएको छ ।
यस्तै, गत आवमा १५ महिला र चार पुरुष गरी १९ जनालाई सीमा प्रहरीचौकी झुलाघाटले उद्धार गरेको छ भने अझै २१ महिला र चार पुरुष गरी २५ जना बेपत्ता छन् ।
बैतडीलगायत अन्य जिल्लाका महिला अरूको लहैलहैमा लागेर भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । यो आव सुरु भएयता पनि अहिलेसम्म तीनजना बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाएको छ । रासस