अघिल्लो साता मार्टिन चौतारीमा प्राध्यापक पिताम्बर शर्माले खुला समाजबारे दिनुभएको प्रवचन मिडियामा चर्चाको विषय बन्यो। प्रवचनको समग्र विषयवस्तुमा असहमत हुनु पर्दैन। तर, खुला समाजलाई विभिन्न विचार परम्पराले कसरी बुझेका छन् भन्ने सन्दर्भमा उहाँले बजार व्यवस्थालाई नै नवउदारवादले खुला समाजको पर्याय मानेको छ भन्ने किसिमले विषयलाई अति सामान्यीकरण गर्नुभएको हो कि भन्ने भान हुन्छ।
एफए हायकको ‘द रोड टु सफरडम’ लाई उद्धृत गर्दै उहाँले ‘नवउदारवाद’ र खुला समाजको चर्चा गर्नुभएको छ। त्यही प्रसंग कान्तिपुर दैनिकमा बिग्रिएर आएको थियो। यसबाट ‘नवउदारवाद’ सम्बन्धी हाम्रो बुझाइ निकै कमजोर रहेको प्रस्टै देखिन्छ ।
नवउदारवादः शब्द र अर्थ
अंग्रेजीमा उस्तै लाग्ने तीन शब्द छन्: ‘लिबरलिज्म’, ‘निओ लिबरलिज्म’ र ‘लिबरटेरियनिज्म’। यी तीन शब्दले तीन भिन्दाभिन्दै अवधारणाको प्रतिनिधित्व गर्छन्। ती अवधारणाको आदर्शतम अवस्थाको तुलनात्मक व्याख्या यहाँ सम्भव नहोला। त्यसैले व्यवहारबाट प्रस्ट्याउन खोजिएको छ।
व्यवहारलाई हेर्ने हो भने, लिबरलिज्म बायाँ ढल्केको हुन्छ। यिनीहरू सामाजिक–राजनीतिक स्वतन्त्रताको कुरा गर्छन्, अर्थतन्त्र भने सरकारकै निगरानीमा हुनुपर्छ भन्छन्। जस्तो, अमेरिकामा डेमोक्रेट्सलाई गाँजाको खुला व्यापारमा कुनै आपत्ति छैन, समलिंगी वा तेस्रो लिंगीहरूको अधिकारको समर्थन उसले गर्छ, तर अर्थतन्त्र सरकारले नै चलाउनुपर्छ भन्नेमा जोड दिन्छ। धनीले बढी कर तिर्नुपर्छ, गरिबलाई सहुलियत–अनुदान दिनुपर्छ, शिक्षा स्वास्थ्य सरकारको दायित्व हो भन्छ। बेलायतमा लेबर पार्टीले पनि यसै गर्छ।
अर्कातिर, निओ लिबरलिज्म दायाँतिर ढल्किएको हुन्छ। यिनीहरू आर्थिक विषयको व्यवस्थापन पूर्णतया बजारबाटै हुन्छ भन्छन्। कर बढी लगाए उद्यमशीलता नाश हुन्छ भन्छन्। धनीबाट कर लिएर गरिबलाई सहुलियत दिने कुराको विरोध गर्छन्। त्यसो गर्नु भनेको एउटासँग पैसा खोसेर अर्कालाई दिनुजस्तै हो, यस्तो गर्ने नैतिक आधार सरकारसँग हुँदैन भन्छन्। सामाजिक र राजनीतिक व्यवहारमा भने सरकारले ध्यान दिनुपर्ने उनीहरूको जिकिर रहन्छ। अमेरिकाको रिपब्लिकन र बेलायतको कन्जर्भेटिभ पार्टी यसका उदाहरण हुन्। बेलायतमा मार्गरेट थ्याचर र अमेरिकामा रोनाल्ड रेगनको कार्यकालमा यस्तो व्यवहार उत्कर्षमा थियो।
लिबरटेरियन भने आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा ‘स्वचालित काइदा’ (स्पन्टनियस अर्डर) हुनुपर्छ र यो सम्भव छ भन्ने दाबी गर्छन्। वास्तवमा मुक्त समाजको चरम रूप नै यही हो। यस सम्बन्धमा आयन रान्डले सबैभन्दा प्रखर अभिव्यक्ति दिएकी छन्। कसैको भलो गर्छु भनेर तपाईं आफ्ना इच्छा–आकांक्षा मार्नुहुन्छ भने त्यो आत्मघात हो भन्छिन् उनी। नागरिकको व्यवहार कसैबाट नियन्त्रित वा निर्देशित हुनुपर्छ भन्ने लिबरटेरियन मान्दैनन्। यो विचार बोकेर राजनीति हाँक्ने खासै ठूलो दल अहिले छैनन्। एउटा छ अमेरिकामा, लिबरटेरियन पार्टी। राष्ट्रिय दलको मान्यता पाइनसकेको यो दलले त्यहाँका केही राज्यमा गभर्नर जितेको छ। अबको राष्ट्रपति चुनावमा १० प्रतिशत भोट ल्याउने लक्ष्य राखेको छ।
नेपालीमा लिबरलिज्मलाई ‘उदारवाद’ र निओ लिबरलिज्मलाई ‘नवउदारवाद’ भनिन्छ अनि यी दुईलाई एउटै अर्थमा प्रयोग गरिन्छ, जुन गलत हो। झन् लिबरटेरियनिज्मलाई नेपालीमा उल्था गरेर यसका बारेमा लेखिएको वा बोलिएको मैले भेटेको छैन। माथिको चर्चाबाट सजिलै बुझ्न सकिन्छ, लिबरलिज्म, निओ लिबरलिज्म र लिबरटेरियनिज्म नजिकका हुन् तर एउटै होइनन्।
‘लिबरटेरियनिज्म’ बारे थप कुरा
प्राध्यापक शर्माले चर्चा गर्नुभएको अस्ट्रियन अर्थशास्त्री एफए हायकले मलजल गरेको अवधारणा लिबरटेरियन परम्पराको हो। यसलाई ठ्याक्कै नवउदारवाद हो भन्न मिल्दैन। फेरि लिबरटेरियनिज्म हायकबाट सुरु भएर हायकमै अन्त्य हुने पनि होइन। लिबरटेरियन साहित्यमा इशापूर्वका चिनियाँ दार्शनिक लाओे–त्जुदेखि पुनर्जागरण कालका डेभिड ह्युम, जोन लक, एडम स्मिथ, जेएस मिल सम्मको विचार अटाएको छ। आधुनिक कालका विभिन्न दार्शनिक, इतिहासकार, राजनीतिज्ञ, समाजशास्त्री र अर्थशास्त्रीले लिबरटेरियन साहित्यलाई अझै व्यापक बनाउँदै ल्याएका छन्।
हायकको ‘द रोड टु सफरडम’ लिबरटेरियन परम्परा बुझ्न मद्दत गर्ने सबैभन्दा सुबोध्य पुस्तिका हो। उनले दोस्रो विश्वयुद्धको सेरोफेरोमा बेलायती समाजवादीहरूलाई ‘कम्युनिस्ट वा फासीवादीहरूबाट भन्दा तिमीहरूबाट स्वतन्त्रता जोखिममा छ’ भन्ने सचेत गराउँदै लेखेको पत्र नै पछि पुस्तकाकारमा आएको हो। सन् १९४५ मा ‘द रिर्डस डाइजेस्ट’ले यसको संक्षेपीकृत संस्करण प्रकाशन गरेपछि अर्थतन्त्र, राजनीति तथा दर्शनमा खासै रुचि नहुने आम पाठकसम्म यो पुस्तक पुग्यो।
हायकका अनुसार कम्युनिस्टभन्दा कथित प्रजातान्त्रिक समाजवादी वा राष्ट्रिय समाजवादीहरू स्वतन्त्रताका लागि झन् बढी खतरा हुन्। बरु कम्युनिस्टहरूले सोझै व्यक्तिको स्वतन्त्रता खोसेर मात्रै पूर्ण साम्यवाद स्थापना हुन सक्छ भनेर स्पष्ट भन्छन्। प्रजातान्त्रिक समाजवादी वा राष्ट्रिय समाजवादी भने केन्द्रीय योजनाबाटै समाजमा समानता र समृद्धि सुनिश्चित गर्ने भन्दै व्यक्तिको स्वतन्त्रता हरण गर्न पुग्छन्। फासीवादी वा साम्यवादीको विरोधमा समाजवाद आउने होइन, बरु समाजवादले त्यस्ता सर्वसत्तावादीहरूको मार्गप्रशस्त गरिदिन्छ भन्ने हायकको भनाइ हो।
हायकले पुस्तकमा समाजवादीहरूको ‘योजना’ ले कसरी चरणबद्ध रूपमा हरेक नागरिकलाई दास बनाउँछ र मुट्ठीभर व्यक्तिलाई मालिक बनाउँछ भन्ने व्याख्या गरेका छन्। मान्छे तर्क गर्ने प्राणी हो, त्यसैले कसैले बनाएको योजनामा सहमति जुटाउनै कठिन हुन्छ। उनका अनुसार सबैका आ–आफ्नै योजना हुन्छन्, कुन योजना राम्रो भन्नेमै विवाद हुन्छ। कसैगरी कुनै योजनामा सहमति जुटिहाल्यो भने कार्यान्वयनमा समस्या हुन्छ।
किनभने, सरकारी योजना कार्यान्वयन गर्ने भनेको कर्मचारीतन्त्रले हो जसमा रचनात्मकता, सिर्जनशीलता र स्वतःस्फुर्त क्रियाशीलताको सर्वथा अभाव हुन्छ। फलस्वरुप योजना असफल हुन्छ। अनि, ‘योजना त राम्रै हो तर यसलाई कार्यान्वयन गर्ने उपयुक्त पात्र फेला परेन’ भन्ने निष्कर्ष निकालिन्छ। त्यसपछि उपयुक्त पात्रको खोजी हुन्छ। योजना कार्यान्वयनका लागि उक्त पात्रलाई सबै अधिकार सुम्पिइन्छ, सर्वशक्तिमान बनाइन्छ। बलपूर्वक योजना लादिन्छ। मुक्त समाज एकाएक बन्धनमा पर्छ। यो हायकको सारांश हो।
तर, पुस्तक यतिमै सीमित छैन। विगत ६६ वर्षमा एकपछि अर्को गर्दै १३ वटा असफल आवधिक योजना र ४९ वटा सरकार झेलेका हामीलाई यो कुरा बुझ्न गाह्रो नहुनुपर्ने हो।
औपचारिक शिक्षाको हिसाबले हायक मौद्रिक अर्थशास्त्री हुन्। उनले अर्थशास्त्रको नोबेल पुरस्कार पनि पाए। तर, ‘द रोड टु सफरडम’ मा व्यक्त विचारलाई आर्थिक विषयमा सीमित गर्नु हुँदैन। हायकले नै प्राक्कथनमा यो पुस्तक राजनीतिक हो भनेका छन्। अर्का नोबेल अर्थशास्त्री मिल्टन फ्रिडम्यानले राजनीतिलाई गहिरिएर बृहत र गैरदलीय अर्थमा बुझ्न चाहने जोसुकैका लागि यो पुस्तक हो भनेर चिनाएका छन्।
समाजवादीले कसरी दासताको बाटो खन्छन् भन्ने बुझाउन उनले ‘केन्द्रीय’ वा ‘राष्ट्रिय’ योजनालाई उदाहरणका रूपमा पेस गरेका हुन्। उनको थेसिस त सामूहिकतावाद नै गलत छ भन्ने हो। व्यक्तिले आफ्नो स्वार्थलाई गौण र सामूहिक स्वार्थलाई प्रधान मान्छ भन्ने अनौठो मान्यता साम्यवादी वा समाजवादीको हुन्छ। सामूहिक स्वार्थका लागि व्यक्ति स्वतःस्फुर्त क्रियाशील हुन्छ भन्ने विश्वास गरिन्छ। सामूहिकतावादीहरूको यो मान्यता र विश्वास नै गलत हो। सामूहिकतावाद मान्छेको नैसर्गिक स्वभाव प्रतिकूल छ भन्ने तर्क हायक र अरू लिबरटेरियनहरूको हो।
व्यक्तिले चुनेर पठाएको सरकारले समाज व्यवस्थापन गर्न सक्छ भन्ने विश्वास गर्ने तर उसको आफ्नै व्यक्तिगत जीवनलाई व्यवस्थापन गर्न सक्दैन भन्ने कुतर्कलाई लिबरटेरियनहरू मान्न तयार छैनन्। व्यक्तिको सोच्ने र निर्णय गर्ने अधिकार नखोसिकन राज्यले योजना बनाउनै सक्दैन। व्यक्तिलाई कुनै निश्चित गतिविधिमा बलपूर्वक लगाइने कुराको विरोध लिबरटेरियन गर्छन्।
लिबरटेरियनिज्मलाई बजार अर्थतन्त्र, पुँजीवाद वा आर्थिक विषय मात्रै हो भन्ने किसिमको प्रस्तुति उक्त अवधारणाको अल्पव्याख्या हो। यस्तो अल्पव्याख्याले हामीलाई उपलब्ध उत्कृष्ट अर्थ राजनीतिक विकल्पबाट वञ्चित हुनुपर्ने जोखिम बढ्छ। लिबरटेरियनिज्म दार्शनिक परम्पराका प्रमुख सर्तहरूमध्ये एउटा खुला बजार अर्थतन्त्र हो। लिबरटेरियनिज्म राज्यवादी दर्शन विरोधी भए पनि अराजकतावादी होइन। विधिको शासनमा लिबरटेरियन विश्वास गर्छन्। शासक (व्यक्ति वा समूह) लाई भन्दा लिखित संविधानलाई पछ्याउनुपर्छ भन्छन्। लिबरटेरियनलाई बलको प्रयोग अस्वीकार्य हुन्छ। उनीहरु राज्यको हस्तक्षेपलाई कमभन्दा कम गर्नुपर्ने, नागरिक सुरक्षा र न्याय स्थापनामा सीमित गर्नुपर्ने तर्क गर्छन्।
समृद्धि हासिल गर्ने क्षमता व्यक्तिमा निहित हुन्छ। अधिकार वा अवसरमा समानता कायम गर्न सकिन्छ, नतिजा (रोजगारी, आय, सम्पत्ति) मा सकिँदैन। व्यक्ति निजी स्वार्थपूर्तिका लागि प्रतिस्पर्धा मात्र गर्दैन, सहकार्य पनि गर्छ। निजी स्वार्थहरूको प्रतिस्पर्धा र समन्वयले नै समाजमा सन्तुलन कायम हुन्छ। लोककल्याणकारी राज्य भ्रम हो भन्छन्।
नवउदारवाद र कम्युनिस्ट
माथि नै भनियो हामीकहाँ लिबरलिज्म, निओ लिबरलिज्म र लिबरटेरियनिज्मलाई एकै घानमा हालेर नवउदारवाद भनिन्छ। यसबारे हाम्रा कम्युनिस्टहरूको सोच त झनै साँघुरो छ। नवउदारवादलाई कम्युनिस्टहरूले अमेरिका, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले लादेको वा लाद्न खोजेको पुँजीवादीहरूको हित गर्ने प्रणाली हो भन्छन्। विश्व बैंक र मुद्रा कोषमा अमेरिकी वर्चश्व छ। अहिलेको विश्व अर्थ राजनीतिमा दोस्रो विश्वयुद्धको विजेता अमेरिकाको वर्चश्व लुकाएर लुक्नै कुरै होइन। लिबरटेरियन अर्थमा अमेरिका कहिल्यै उदारवादी नभएको अवस्थामा उसको आधिपत्य रहेका संस्थाले कसरी उदारवादको प्रवर्द्धन गर्छन्? बरु, दोस्रो विश्वयुद्धलगत्तै गठन भएका ती दुई संस्थाले वासिङटनकै इसारामा विभिन्न कालखण्डमा विभिन्न प्रयोग गर्दै रहे।
१९९० को दशकमा उनीहरूले नवउदारवादीहरूले भन्दै आएको सार्वजनिक खर्च पुनर्संरचना, कर कटौती, खुला अन्तर्राष्ट्रिय व्यापार, निजीकरण, निजी सम्पत्ति, बजार निर्धारित ब्याजदर तथा विनिमय दर लगायत केही विषयलाई आफ्ना रणनीति तथा कार्यक्रममा समावेश गरे, अहिले छाडे। यत्तिकैका आधारमा उनीहरूलाई उदारवादको प्रवर्द्धक भन्न मिल्दैन। उदारवादको केही अंशलाई यी संस्थाले कुनै कालखण्डमा आफ्नो सुविधाका लागि प्रयोग गरेका मात्र हुन्। विश्व बैंक, मुद्रा कोष वा अमेरिकालाई उदारवादी भन्नु पित्तललाई सुन मान्नुजस्तै हो।
अहिलेको विश्वमा कुनै पनि मुलुक पूर्ण समाजवादी वा पूर्ण पुँजीवादी हुन सक्दैन। समाजवादी वा पुँजीवादी झुकाव राख्नेसम्मको हुन सक्छ। हाम्रा साझा राजनीतिक वा आर्थिक चासोका विषयमा छलफल गर्दा कित्ता काटाकाट गर्ने गैरबौद्धिक प्रवृत्ति हाम्रो छ। हाम्रा कम्युनिस्टहरू यो रोगबाट बढी ग्रस्त छन्। गरिबहरुको हित गर्ने साम्यवाद हो, धनीलाई अझ धनी बनाउने पुँजीवाद हो भन्ने भ्रम छर्न उनीहरू सफल छन्। अनि पुँजीवाद र नवउदारवाद एउटै हो भन्न पनि उनीहरू चुक्दैनन्। उनीहरुले गाली गर्ने गरेको क्यापिटलिज्म (पुँजीवाद) र गाली गर्नुपर्ने कर्पोटेरिज्म (पैसा हुनेहरुको मात्र सुनुवाई हुने व्यवस्था) फरक कुरा हुन्।
अन्त्यमा,
मुक्त समाज निर्माणका बाधाहरुमा हाम्रो बुझाइ पनि प्रमुख हो। समकालीन विश्वमा अवधारणाको स्तरमा धेरै विकल्प छन्। हामीले ती अवधारणाको खोजी गरेका छैनौं, गर्न खोज्दैनौं। बहुसंख्यक नेपालीले मुक्त समाज निर्माणको ठेक्का केही व्यक्तिको समूहलाई दिएका छौं। जर्ज बर्नाड शले भनेजस्तो हामी कहिल्यै दास हुन सक्दैनौं किनकी हामी ती सबैथोक गर्न स्वतन्त्र छौं जुन कुरो सरकारले गर भन्छ र जनधारणाले गर्न दिन्छ।