पूर्वसांसद्हरुले विशिष्ट व्यक्तिका नाममा राज्यकोषबाट जथाभावी सुविधा नदिन सरकारसँग माग गरेका छन्।
पूर्वसांसद्हरुले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई उपचार, घरभाडा र जीवन निर्वाहका नाममा जथाभावी रुपमा खर्च नदिन माग गरेका हुन्।
उनीहरुले आम सर्वसाधारणले मुलुकभित्र उपचार पाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेका बेला पूर्व पदाधिकारीलाई करोडौं रुपैयाँ दिएर उपचारका लागि विदेश पठाउने क्रम बन्द गर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।
सरकारले केही दिन पहिले मात्र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकामा उपचारका लागि ६० लाख रुपैयाँ दिने र त्यसवाहेक दैनिक भ्रमण भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले पनि सरकारी खर्चमै विदेशमा उपचार गराएका थिए। पूर्वसांसद्हरुले राज्यले कि त सबै नागरिकलाई उपचारका लागि विदेश पठाउनुपर्ने होइन भने पहुँचका आधारमा उपचार खर्च दिने परिपाटी बन्द गर्नुपर्ने माग गरे।
पूर्वसांसद् मञ्चका पदाधिकारीले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई सुविधा दिइए आफूहरुलाई पनि दिइनुपर्ने अन्यथा राज्यको विभिन्न तहमा रहेर काम गरेका पूर्वपदाधिकारीमाथि विभेद गर्न नपाइने बताए।
जवाफमा प्रधानमन्त्री दाहालले पूर्वपदाधिकारी र नेताहरुले पहुँच प्रयोग गरी राज्यकोषबाट जथाभावी रुपमा सुविधा लिने क्रम रोक्नका लागि सरकारले कानून निर्माणको प्रक्रिया अगाडि बढाएको बताए।