“सामान्य घरवाट कुखुरा हराउँदा, धनमाल चोरी हुँदा त हाम्रो मन कति दुख्छ, हामी त्यो वस्तु पाउन कति मिहेनत गरेर खोजी गर्छौं, तर यहाँ माओवादीले सञ्चालन गरेको युद्धमा कति बेपत्ता छन्, कति घाइते छन्, अहिलेसम्म शरीरमा गोली बोकी जिउँदो लास बनेर मानिस बाँचिरहेका छन् ।”
“युद्धकालमा भएका मानवीय क्षतिसँगै भौतिक संरचना ध्वस्त भएको विवरण हेर्दा कसको पो मन रुँदैन र? वास्तविक द्वन्द्वपीडितभन्दा अरूले सेवासुविधा पाउँदा हुँदै नभएका मानिसको नाममा राहत आउँदा पीडित झनै पीडित भएका छन्”, सक्लाका नरबहादुर गौतमले वताए ।
माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेको आरोपमा भेरीमालिका–१ कालेगाउँका दीपक बटालालाई प्रहरीले बेपत्ता बनायो । अहिलेसम्म बटालाकी ६५ वर्षीया आमा चनमती बटाला छोरो कतैबाट आउँछ कि भनेर मूलबाटो हेर्न लागेको १८ वर्ष बित्यो । १८ वर्षसम्म दीपकको अत्तोपत्तो नहुँदा पूरै परिवार तथा आफन्तको आँखाबाट आँसु झर्न छोडेको छैन । छोरा सपनामा घर आएको देख्दा सधैँ राति निदाएको बेला उहाँ छोरा, छोरा भन्दै कराउने बानी नै बसेको छ ।
त्यस्तै, भेरीमालिका–१ कै माओवादी केन्द्र जाजरकोटका संयोजक पिपेका ढकवीर रानाले पनि आफ्ना बेपत्ता छोराका बारेमा यथार्थ पत्ता नलागेको भन्दै तत्काल राज्यले सत्यतथ्य पत्ता लगाई उचित सूचना दिनुपर्ने बताए । ढकवीरका छोरा गुमानसिंह रानालाई २०५६ सालमा माओवादी आरोपमा सुर्खेतमा पक्राउ गरी बेपत्ता पारिएको थियो ।
यहाँका ११ जनालाई बेपत्ता बनाए पनि अहिलेसम्म यथार्थ विवरण बाहिर नआउँदा आफन्त बेखबर बनेका छन् । राज्यले द्वन्द्वकालमा मारिएका परिवारका सन्ततिलाई १८ वर्षसम्म मात्र छात्रवृत्ति दिइँदै आएकामा पढ्दासम्म छात्रवृत्ति दिने व्यवस्था गरिदिएको भए द्वन्द्वको घाउ थोरै भएपनि कम हुने आशा पीडितको छ । सबै सहिद परिवारलाई १० लाख रुपैयाँ दिने भनिएपनि पाँच लाखसम्म मात्र पाएको भन्दै राज्यले विभेद गरेको खगेनकोट–५ का अने कामीले वताए।
भेरीमालिका–१ को बडालेख र उब्जेलेख लगायतका दर्जन ठाउँमा प्रहरी र सेनाले हवाई आक्रमण गरी जनताका घर, टहरा आगजनी गरेपनि अहिलेसम्म क्षतिपूर्ति नभएको स्थानीयवासीले बताएका छन् ।
२०५४ सालमा माओवादीको आश्रयस्थल भएको भनेर ६४ घरगोठ आगो लगाएर जलाएको स्थानीयवासी भेजी रानाले बताए । जाजरकोटमा ११ जना बेपत्ता छन् भने ३५६ जनाको मृत्यु भएको थियो । घाइतेको सङ्ख्या अझै यकिन हुन सकेको छैन । दलैपिच्छे घाइतेको विवरण फरक छ । रासस