छोरी पवित्रा र छोरा रामचन्द्रका साथ दिलकुमारी।
२०५८ साल असारमा श्रीमान् धनबहादुर रोका बेपत्ता हुँदा दिलकुमारी रोका १६ दिनकी सुत्केरी थिइन्। उनका कान्छो छोरा रामचन्द्रको न्वारान गरेको पाँच दिनमात्र हुँदै थियो।
जेठी छोरी पवित्रा ३ वर्ष र छोरा वसन्त २ वर्षका थिए।
धनबहादुर बेपत्ता भएको पन्ध्र वर्ष पुगिसकेको छ। टुप्लुक्क आइपुग्लान् कि भनेर घरिघरि त बाटो हेर्छिन् दिलकुमारी, मनमा थोरै पलाएको आश केहीछिनमै बिलाएर जान्छ।
‘२०५९ सालमा मरिसक्यो भनेर गाउँलेले भनेका थिए,’ दिलकुमारीले भावुक बनिन्, ‘त्यति नै हो।’
रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असारमा तत्कालीन माओवादीले प्युठानको भिङग्री जलुकेबाट अपहरण गरेका थिए। धनबहादुर जिउँदो फर्किएनन्, मरेको भनौं लाश पनि आएन।
वर्गसंघर्षका निम्ति युद्ध गरेको भन्थे माओवादी। पछाडि पारिएका जातजातिको उत्थानको लागि भन्थे। अरू पनि थुप्रै नारा थिए माओवादी युद्धका। धनबहादुर त्यही माओवादीले भन्ने गरेको जातजातिको उत्थानकै निम्ति रेडियो नेपालमा मगर खाम भाषाको समाचार बनाउँथे। समाचार उत्पादन गर्थे। २०५८ सालमा काम विषेशले रोल्पा सदरमुकाम लिवाङ आएका बेला अपहरण परेका थिए, धनबहादुर।
धनबहादुर किन अपहरणमा परे, माओवादी कहिल्यै भनेन। सशस्त्र युद्धमार्फत शान्ति प्रक्रियाको वैशाखी टेकेर माओवादीले तेस्रोपटक सत्तारोहण गरिरहेको छ, त्यो सत्ताका प्रधानमन्त्री उनै युद्धप्रमुख पुष्पकमल दाहाल छन्।
पति सम्झिँदा दिलकुमारीको आँखामा प्रधानमन्त्री पुष्पकमल दाहालको अनुहार यदाकदा डुल्छ। दाहाललाई सोध्न मन लागेको छ, ‘मेरा श्रीमान् के कारण अपहरण परे?’
माओवादी ज्यादतीमा यो परिवारबाट धनबहादुर एक्लै मात्र परेका भने थिएनन्। उनका बुबा मनबहादुरलाई पनि कांग्रेस भएकै कारण २०५३ साल कात्तिक ३० गते आफ्नै घरमा गोली ठोकेर हत्या गरेका थिए माओवादीले।
‘हाम्रो भर्खर बिहे भएको थियो। माइती मान्न पल्लो गाउँ गएका थियौं। माओवादी घरमा आएछन्। ससुरालाई गोली हानेर मारेछन्,’ उनी भन्छिन्, ‘मेरो बुढा भनेर ससुराको फुपाजूलाई पनि गोली हानेछन्। देवरलाई पनि खुकुरीले छियाछिया पारेछन्।’
अर्को दिन आएको हेलिकप्टरले देवरलाई उपचारका लागि नेपालगञ्ज पुर्याएपछि बल्लतल्ल बाँचेका थिए। त्यसपछि पूरै विस्थापित भएको धनबहादुरको परिवार प्रहरी चौकी भएको क्षेत्र वरपर डेरा गरी बस्न थाल्यो।
‘श्रीमान् र ज्वाइँको लाश अनि कान्छो छोराको छियाछिया भएको अर्धचेत शरीर हेरेर रातभरि सासु चिच्चाउनु भएछ। तर, कसले के गरिदिने? भोलिपल्ट हामी आउँदा देवरलाई हेलिकप्टरबाट लगिसकेका थिए,’ दिलकुमारी भन्छिन्, ‘ससुरालाई मारेपछि टुटु(चौकी रहेको गाउँ)मा बस्न थाल्यौं।’
चौकी नजिक डेरा थियो। धनबहादुर डराइडराई घर आउँथे। लुक्दैछिप्दै हिँड्थे। कति दिन त भोकभोकै लुके। मान्छेसँग डराउनुपर्ने विगत स्मरण गर्दा दिलकुमारीका आँखाबाट आँशु चुहिए।
प्रहरी चौकीछेऊ केही सुरक्षाको अनुभूति हुन्थ्यो। तर, पछि प्रहरी चौकी पनि माओवादीको निशानामा पर्यो र त्यहाँबाट उठ्यो। धनबहादुर सुर्खेततिर लागे। दिलकुमारी सासु, छोराछोरी बोकेर माइत गइन्।
सुर्खेत हिँडेका धनबहादुर फर्केनन्। माइतीको जग्गामा छाप्रो हालेर दिलकुमारी छोराछोरीसाथ ओत लागिन्। ‘आफ्नो भन्ने त अलिकति जग्गा छ। त्यसैमा दाइभाइको सहयोगमा मकै रोप्छु। पुगेको खान्छु। छिमेकीको काम गर्छु,’ दिलकुमारीले भनिन्, ‘जसोतसो चलेकै छ।’
२०६६ सालमा काठमाडौंस्थित एसिया जर्नालिस्ट एसोसिएसन र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीको पहलमा बेपत्ता पत्रकार धनबहादुरका छोराछोरी विद्यालय जान थालेका थिए। ‘पत्रकार महासंघले १० कक्षासम्म पढाइदिने भनेको छ। अहिलेसम्म स्कुल गइरहेका छन्,’ दिलकुमारीले भनिन्।
कसैले सोध्यो भने बेपत्ता पत्रकारकी श्रीमती भन्छिन्। धेरै वर्ष भयो गुमनाम छिन्।
कांग्रेस भएकैले ससुरा मारिए। ससुरा, उनका ज्वाइँ, पति, घरबास सबै गुम्यो। छोराछोरी कहिलेकाहीँ सोध्छन्, बुबा कहिले आउनुहुन्छ? भनेर। ‘मर्यो भन्नु लाश देखेको होइन, आउँछ भन्नु मारिसक्यौं भन्नेहरू सिंहदरबारमा छ रे,’ उनी भन्छिन्।
धनबहादुरकी जेठी छोरी पवित्रा अहिले ९ कक्षामा पढ्दैछिन्। बुवाको याद धमिलो धमिलो आउँछ उनलाई। धनबहादुर रेडियोमा काम गर्दा खिचेर धुलाएको एउटा फोटो छ एल्बममा। त्यसैलाई हेर्छिन् कहिलेकाहीँ पवित्रा।
दिलकुमारी र पवित्रालाई धनबहादुर बेपत्ता पारिनुको कारण थाहा छैन। न यिनीहरूले कांग्रेस बुझे, न माओवादी। बेपत्ता छानविन आयोग गठन भएको छ। तर, दिलकुमारीहरू त्यो आयोगको पहुँचमा पुग्ने अवस्थामा छैनन्।
केही वर्षअगाडि सरकारले मृतकलाई राहत दिने घोषणा गरेअनुसार श्रीमान मरेको सुनेका आधारमा मृत्यु दर्ता गरेकी दिलकुमारीको अपेक्षा छ, ‘आयोगले कम्तीमा बेपत्ता पारिनुको कारण खोजोस्, हत्या गरेको हो भने त्यसको निष्पक्ष छानविन गरोस्।’