साउन ५, मध्याह्न। महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी फाइल पल्टाउन व्यस्त थिए। एक युवती नमस्कार गर्दै कोठामा छिरिन्। उनले इसारामा सोफामा बस्न भने र आफ्नै काममा व्यस्त हुन थाले।
बस्न असहज मानेको युवतीको भावभंगीमा देखेपछि रेग्मीले फाइल थन्क्याए र सोधे- भन्नुहोस् के काम थियो? ‘५ वर्षअघि दिल्लीमा बेचिएकी थिएँ, मलाई बेच्नेविरूद्ध उजुरी दिन आएकी।’
रेग्मीले विवरण टिप्न सहयोगीलाई बोलाए।
युवतीले सुनाउन थालिन्, ‘५ वर्षअघि राजकुमार भुजू भन्ने व्यक्तिले मलाई सुनौलीमा कपडा किन्न जाऊँ भनेपछि उनीसँगै हिडेँ। दिउसो ३ बजे कलंकीमा गएर भैरहवा जाने बस चढ्यौ। भैरहवा हुँदै सुनौली पुगेर होटलमा बस्यौ। उनले चिसो खाउँ भने। चिसो पिएको केही समयपछि मलाई के भयो थाहै भएन। आँखा खुल्दा म दिल्लीको कुनै कोठामा रहेछु। मलाई उसले साढे तीन लाखमा बेचेको रहेछ।’
युवतीको बयानअनुसार ५ वर्ष यौनकर्मीको रूपमा काम गरेपछि बुढी भइ भन्दै कोठी सञ्चालिकाले निकालेपछि दिल्ली, गोरखपुर, रक्सौल हुँदै उनी काठमाडौं आएकी रहिछन्।
बिक्री गर्ने व्यक्ति रूपन्देही पठौलीका थिए।
‘त्यसलाई चिन्नुहुन्छ?’ प्रहरीको जिज्ञासामा ती युवतीले टाउको हल्लाएर चिन्छु भनिन्। परिसरले रूपन्देही प्रहरीलाई हुलिया र ठेगनासहित तत्काल पक्राउ गर्न पत्र पठायो।इलाका कार्यालय धगधगीले १२ गते भुजुलाई पक्राउ गरी काठमाडौं ल्यायो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।