वैशाखदेखि भदौ १२ गतेको अवधिमा भएको ७२९२ सवारी दुर्घटनामा ८१६ जनाको मृत्यु , १७७६ जना गम्भीर घाइते र ३४३३ साधारण घाइते भएका छन्।
पाँच महिनाभन्दा कम अवधिमा सबैभन्दा बढी मोटरसाइकल २६५६, कार जिप २१११, ट्याक्टर ९७४ र बस ९२४ दुर्घटनामा परेका छन्।
यी दुर्घटनामा सबैभन्दा बढी पुरूष ५६९, महिला १५१, बालकफ ६८ र बालिका २८ जनाको ज्यान गएको तथ्यांक गृहमन्त्रालयले सार्वजनिक गरेको हो।
यसरी सडक दुर्घटना बढ्नुको कारणमा ३२४६ घटना चालकको लापरबाहीबाट, ५७८ तिब्रगतिका कारण, १९७ यात्रुको गल्ती, १०१ यान्त्रिक गडबडी, ९४ घटना मापसे र ८५ घटना बढी यात्रु भएका कारण भएको हो।
संसदको राज्य व्यवस्था समितिको बैठकमा मंगलबार बोल्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सडक र सवारीसाधनको अवस्था प्राविधिक रूपमा कमजोर भएपनि चालकले चाहेमा सडक दुर्घटना कम गर्न सक्ने बताए।
७२ हजार प्रहरी मध्ये २३६२ ट्राफिक प्रहरीले १२४९३ किमि सडकमा २१ लाख २१ हजार भन्दाबढी सवारीसाधनको व्यवस्थापन गर्नुपरेको उनले बताए।
‘सरदरमा १२१९९ नागरिक, ९०६ सवारीसाधन र ५.२८ किलोमिटर सडक एक ट्राफिकले हेर्नुपर्छ,’ निघिले भने।
हाल कायम रहेको ट्राफिक प्रहरी संख्यामा कमी भएको कारण ५ सय प्रहरी काजमा ल्याई काम लगाइएको छ।
सडक यातायातमा रहेको सिण्डिकेट हटाउन सरकारदेखि सर्वोच्च अदालतले समेत निर्देशन दिदै आए पनि यसको अन्त्यका लागि सबै पक्षबाट दृढ संकल्प र सहयोग सरकारलाई चाहिएको छ।
चालकको वर्गीकरण गर्दा चालकहरूकले हडताल गर्ने स्थिति रहेको यसको अन्त्यका लागि सहि निति नियम र कार्यनयनको आवश्यकता रहेको उनले बताए।
समिति सदस्य गंगालाल तुलाधरले चार महिनामा ८१६ जनाको सडक दुर्घटनामा ज्यान जाने कुरा गम्भीर विषय भएको बताए।
अर्जुनप्रसाद जोशीले ट्राफिक प्रहरीलाई सजायको २५ प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्थाका कारण ट्रफिक प्रहरी सडक व्यवस्थापन भन्दा सजायका लागि चिट काट्न केन्द्रित भएको बताए।
विक्रम थापाले सवारी चालक अनुमतिपत्र दिँदा टिनएजरलाई सार्वजनिक सवारीसाधन चलाउने अनुमतिपत्र दिन नहुने सुझाव दिए।