छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन्।
बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन्। २०६१ मा तत्कालीन माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई सर्वोच्च अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा राखिनुपर्ने माग सहित गङ्गामाया १८ दिनदेखि आमरण अनशनमा बसिरहेकी छन्।
अनशनका क्रममा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले वीर अस्पताल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। छोराका हत्यारालाई कारबाहीको माग राख्दै सुरु गरिएको अनशनको ३३४औँ दिनमा गङ्गामायाका श्रीमान् नन्दप्रसादको निधन भइसकेको छ। अहिले उनले एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छन्। उनले आफूले न्याय नपाएसम्म अनशन नतोड्ने जनाउँदै आएकी छन्। रासस