काभ्रेको विर्ता देउरालीका वासिन्दाले सार्वजनिक यातायातले क्षमताभन्दा बढी यात्रु र मालसामान बोक्नुमा चालक र बसधनीका अलावा प्रहरी प्रशासनको समेत मिलेमतो रहेको भन्दै सबै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
दुई साता पहिले स्थानीय खहरे खोला नजिकै भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएपछि विर्ता देउरालीवासीले पुराना गाडीको संचालनमा रोक लगाउन तथा सडकको अवस्था सुधार गर्न पनि माग गरेका छन्।
दुई साता पहिले विर्ता देउरालीमा भएको यात्रुवाहक बस दुर्घटनामा विर्ता देउराली र आसपासका गाविसका २७ जनाको ज्यान गयो । क्षमताभन्दा बढी यात्रु तथा चामल र सिमेन्ट बोकेको बस खहरे खोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खस्दा ४३ जना घाइते भए।
त्यसयता त्रिशूलीमा यात्रुवाहक बस खस्यो भने अर्घाखाँचीको जीप दुर्घटनामा ११ जनाले ज्यान गुमाए। सडकको दुरावस्था, क्षमताभन्दा बढी भार, सिन्डिकेट लगायतका कारण दुर्घटना बढेको भनेर चर्चा भइरहेका बेला भौतिक पूर्वाधार तथा यायातामन्त्री रमेश लेखक काठमाडौंबाट नजिकै पर्ने मध्येको दुर्घटनास्थल विर्ता देउराली पुगेका छन्।
सडकको अवस्था अवलोकन गर्न तथा दुर्घटनामा आफ्ना परिवारजन गुमाएका स्थानीयवासीहरुलाई सान्त्वना दिन भन्दै शनिबार अपरान्ह विर्ता देउराली पुगेका मन्त्री लेखक एक किशोरीको रोदनले आफैं सम्हालिन नसक्ने अवस्थामा पुगे।
मन्त्री लेखकसामू दुर्घटनामा आफ्ना मातापिता गुमाएकी बबिता बर्देवाले अब ३ जना भाइबहिनी कसले पालिदिन्छ भनेर प्रश्न गरिन्। भुकम्पका कारण घर नरहेको र आयस्रोत पनि केही नभएको भन्दै भाइवहिनीको पालनपोषणको चिन्ता प्रकट गर्दा बबिता सम्हालिन सकिनन्।
मन्त्री लेखक र सांसद् तीर्थ लामाका सामुन्ने बबिताले पीडा पोख्दा धेरै स्थानीयवासीले आँसु झारे । मन्त्री लेखक पनि भावुक बने । उनले दुर्घटनाका कारण पीडामा परेका परिवारलाई सरकारले सक्दो सहयोग गर्ने बताए ।
बिर्ता देउरालीवासीले मन्त्री लेखकसामु क्षमताभन्दा बढी यात्रु र मालसामान बोक्न नपाउने व्यवस्था गर्न माग गरे। उनीहरुले दुर्घटना हुनुमा चालक, बसधनी, प्रहरी र प्रशासन सबै दोषी रहेको भन्दै दुर्घटना दोहोरिन नदिन यात्रुको सुरक्षाप्रति बेवास्ता गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइनुपर्ने बताए।
काभ्रेको कोशीपारि क्षेत्रमा अरनिको यातायातका बस चल्ने गर्छन् । बिर्ता देउरालीवासीले सडकको अवस्था सुधार गरिदिन पनि विभागीय मन्त्री लेखकसँग आग्रह गरे। एक बालिकाले चालकहरुले बसको अगाडिपट्टि केटी राखेर गफिने गरेका कारण यात्रा गर्दा जहिले पनि डराउनुपर्ने अवस्था रहेको बताइन्।
स्थानीयवासीको मागपछि मन्त्री लेखकले क्षमताभन्दा बढी यात्रु बोक्ने चालकलाई कारवाहीको दायरामा ल्याउने तथा बसको इजाजतपत्र नै निलम्बन गर्ने आश्वासन दिए। यात्रु बोक्ने बसलाई मालसामान बोक्नमा रोक लगाउने तथा सडक कालोपत्रे गर्नका लागि अर्को वर्ष बजेट छुट्याउने आश्वासन दिएर मन्त्री लेखक फर्किए।